Logo

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको कारण सार्वजनिक यातायात चल्नसक्ने अवस्था छैन् : अध्यक्ष स्वाँर



काठमाडौं, ६ असार । सरकारले आम उपभोक्ताको ढाड सेक्नेगरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै विभिन्न सरोकारवाला पक्षले विरोध जनाएका छन् । उनीहरुले तत्काल सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिनुपर्ने पनि माग गरेका छन् ।

आज (सोमबार) रिपोर्टर्स क्लब नेपालले ‘पेट्रोलियम पदार्थ र दैनिक उपभोगय वस्तुलगायतमा भैरहेको निरन्तरको मुल्यबृद्धि र आमजनस्तरमा यसको प्रभावको विषयमा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै विद्यार्थी संगठनका नेताहरु, यातायात व्यवसायी र उपभोक्ता अधिकारकर्मीहरुले सरकारले जनतालाई मार्नेगरि पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको भन्दै विरोध जनाएका हुन् । उनीहरुले तत्काल मूल्यवृद्धि फिर्ता नलिए आन्दोलनमा उत्रिने पनि चेतावनी दिएका छन् ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष विजय स्वाँरले पेट्रोलियम पदार्थको मुल्यवृद्धिले सार्वजनिक यातायात चल्न नसक्ने अवस्थामा पुगेको टिप्पणी गरे । उनले आफुहरु गाडी व्यवसायीमात्र नभएर त्योभन्दा पहिला नागरिक भएको बताउँदै पेट्रोलियम पदार्थको मुल्यवृद्धिले सार्वजनिक यातायातमा धेरै नै असर गरेको गुनासो पोखे ।

उनले भने,‘पैसा हुनेहरु आ–आफ्नै सवारीसाधनमा चढ्छन्, तर विद्यार्थी र न्युन आय भएकाहरु सार्वजनिक यातायातमा चढ्नुपर्ने बाध्यता छ । विद्यार्थी र ती सामान्य नागरिकको लागि सरकारले राहतको प्याकेज ल्याउनुपर्छ ।’

विश्वभर सार्वजनिक यातायातमा सरकारको लगानी हुने भन्दै नेपालमा भने सरकारको तर्फबाट कुनै लगानी नभएको उनको टिप्पणी छ । उनले नयाँ गाडी आयात हुने अवस्था नभएको र पुरानो गाडी पनि चलाउन नसक्ने अवस्थामा व्यवसायी पुगेको टिप्पणी गरे । गाडी भाडाभन्दा पनि सर्वत्र मुल्यवृद्धिले नागरिकको जीवनयापनमा समस्या भएको उनको गुनासो छ ।

सार्वजनिक यातायाताको भाडा बढेपछि अरुको नबढ्ने भन्दै उनले अन्यमा भाडा बढेमात्र सार्वजनिक यातायातको भाडा बढ्ने स्पष्ट पारे । निजी क्षेत्रका सबै व्यवसायीहरु एकजुट भएर लड्नुपर्ने दिन आएको भन्दै अब यातायात व्यवसायी र विद्यार्थीहरु पनि मिलेर पेट्रोलियम पदार्थको मुल्यवृद्धिलाई राष्ट्रिय समस्याको रुपमा लिएर यसको दीर्घकालिन समाधानतर्फ लाग्नुपर्ने बताए । सडकमा आन्दोलन गरेर कुनै अर्थ नभएको भन्दै उनले सरकारले राहत प्याकेज दिनुपर्ने बताए ।

 



प्रतिक्रिया दिनुहोस्