Logo

‘सरकारको निकम्मापनले गर्दा पेट्रोलियम पदार्थको मुल्य बृद्धि भएको हो’ : अध्यक्ष महर्जन



काठमाडौं, ६ असार । सरकारले आम उपभोक्ताको ढाड सेक्नेगरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै विभिन्न सरोकारवाला पक्षले विरोध जनाएका छन् । उनीहरुले तत्काल सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिनुपर्ने पनि माग गरेका छन् ।

आज (सोमबार) रिपोर्टर्स क्लब नेपालले ‘पेट्रोलियम पदार्थ र दैनिक उपभोगय वस्तुलगायतमा भैरहेको निरन्तरको मुल्यबृद्धि र आमजनस्तरमा यसको प्रभावको विषयमा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै विद्यार्थी संगठनका नेताहरु, यातायात व्यवसायी र उपभोक्ता अधिकारकर्मीहरुले सरकारले जनतालाई मार्नेगरि पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको भन्दै विरोध जनाएका हुन् । उनीहरुले तत्काल मूल्यवृद्धि फिर्ता नलिए आन्दोलनमा उत्रिने पनि चेतावनी दिएका छन् ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले आफूले विगत ४० वर्षदेखि उपभोक्ता अधिकारकै क्षेत्रमा निरन्तर काम गरेको उल्लेख गर्दै पछिल्लो समयमा बढेको महँगी सबैभन्दा बढि भएको दाबी गरेका छन् । विद्यार्थीहरुले गर्दै आएको आन्दोलन आजसम्म राजनीतिक फाइदाको लागिमात्र भएको उनको टिप्पणी छ ।

यसअघि २०७६ सालमा विश्वभरनै पेट्रोलियम पदार्थको मुल्य धेरै नै घटेको स्मरण गर्दै नेपालमा भने त्यतिवेला मूल्य नघटाईएको उनले स्मरण गराए । उनले त्यतिवेला नेपालका कुनैपनि विद्यार्थी संगठनले आन्दोलन वा विरोध नगरेको पनि दाबी गरे ।

उनले पेट्रोलियम पदार्थको मुल्यवृद्धि युक्रेनको कारण नभइ सरकारको कारणले भएको आरोप लगाए । उनले भने,‘सरकारको निकम्मापन र अदुरदर्शिता नीतिले गर्दा आज पेट्रोलियम पदार्थको मुल्य बृद्धि भएको हो ।’ उनले विश्वमै सबैभन्दा बढी पेट्रोलियम पदार्थमा कर र शुल्क लिने देश नेपाल भएकोसमेत टिप्पणी गरे । उनले भने,‘१ लिटर पेट्रोलियम पदार्थमा १०४ प्रतिशतसम्म कर असुल्दा पनि कुनै राजनीतिक दल र कुनै पनि भातृ संगठनले बोल्न सक्दैनन् ।’

यातायात व्यवसायीले आज नै भाडा बढाएर खुशी भएको भन्दै उनले जिविका गरेर खाने जनतालाई मुल्यवृद्धिमा समस्या सुरु भएको बताए । नेपालमा पछिल्लो समयमा रोजगारीको समस्या र आम्दानी कमी भईरहेको तर महंगी बढ्दै गएकोमा उनले चिन्ता व्यक्त गरे ।

कमाईको आम्दानी नबढेको अवस्थामा गाडी भाडा बढेपछि सामान्य नागरिक समस्यामा परेको उनको बुझाई छ । पेट्रोलियम पदार्थको मुल्य बढेपछि सबैको मुल्य बढ्ने उनले तर्क गरे । उनले अहिले दुई÷चार जना व्यापारिक घरानाले देशलाई नै आफ्नो हातमा लिएको टिप्पणी गरे । व्यापारीकै कारण राजनीतिमा लामो त्याग र तपस्या गरेकाहरुलाई सम्मान नगरेर दलहरुले अहिले पैसा हुनेलाई प्रश्रय दिएको र लाभको पदमा पुर्याएको पनि उनले गुनासो पोखे । पैसाकै कारण व्यापारीहरुले सरकारको मुखमा बुझो लगाइदिएको उनले जिकिर गरे ।

भारतले आफ्ना नागरिकलाई आपुर्ति व्यवस्था सहज गर्न भन्सार महसुल मिनाहा गरेको स्मरण गराउँदै नेपाल सरकारले भने अहिलेसम्म त्यसो गर्न नसकेकोमा आपक्ति जनाए । सरकार व्यापारिक घरानाको पोल्टामा परेको हुनाले जनता अत्यन्तै दमित÷शोषित भएको उनको भनाई छ ।

पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्धको विद्यार्थीहरुको आन्दोलनमा आफूहरुको कुनै सहभागिता नरहने पनि उनले स्पष्ट पारे । विद्यार्थीहरुले आफ्नो राजनीतिक स्वार्थ र दुनो सोझ्याउनको लागिमात्रै आन्दोलनको नाटक गरेको उनको आरोप छ । जनताले अहिले भोगेका समस्या र उनीहरुको पीडाको आवाज सरकारले नसुने अब नेपालको हालत पनि श्रीलंकाजस्तै बन्ने उनको चेतावनी छ ।



प्रतिक्रिया दिनुहोस्