Logo

एन्फा अध्यक्षमा शेर्पा पराजित भएसँगै फुटबल प्रशिक्षक अल्मुताइरी बिदा हुनसक्ने



काठमाडौं, ७ असार । अखिल नेपाल फुटबल संघमा गणेश थापाको लामो समयको राज २२ वर्ष लामो युग समाप्त पार्दै अध्यक्ष बनेका कर्माछिरिङ शेर्पा पाँच वर्ष मात्र नेतृत्वमा टिक्न सके । उनलाई पराजित गर्दै महावीर क्लबका पूर्ण खेलाडी पंकजविक्रम नेम्वाङ अध्यक्ष बनेका छन् ।

कुल ८४ मत खसेकोमा शेर्पाले ३९ मत पाउँदा नेम्वाङले ४५ मत पाए । नेम्वाङ २०७४ मा शेर्पाकै प्यानलबाट उपाध्यक्ष निर्वाचित भएका थिए ।

शेर्पा पराजित भएसँगै नेपाली फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी समेत बिदा हुने सम्भावना देखिएको छ । अल्मुताइरीसँग नेम्वाङ असन्तुष्ट छन् । यो विषयले एन्फाको चुनावमा अल्मुताइरीको विषय पनि मुद्दा बनेर देखिएको छ ।

एन्फा अध्यक्षको चुनावमा नेपाली काँग्रेसनिकटहरु नै मैदानमा थिए । कर्माछिरिङ शेर्पा पूर्वमहामन्त्री प्रकाशमान सिंह निकट मानिन्छन् । पूर्वमन्त्री नरेन्द्रविक्रम नेम्वाङका छोरा पंकजविक्रम नेम्वाङको सभापति शेरबहादुर देउवा र कोइराला परिवार दुवैसँग निकटता छ । अर्का उम्मेदवार राजीव पौडेलले भने नेम्वाङलाई अन्तिम समयमा साथ दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्