Logo

मूल्यवृद्धिविरुद्ध विद्यार्थी संगठनहरूको एउटै स्वरः “सडकमा सरकारी गाडीलाई निषेध गर्छौं”



काठमाडौं, ७ असार । विभिन्न विद्यार्थी संगठनका नेताहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए आन्दोलनको आँधीबेरी सिर्जना गर्ने चेतावनी दिएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले भनिन्, “पेट्रोलियम पदार्थको मूल्यवृद्धि अमान्य छ । यो तत्काल फिर्ता गरिनुपर्छ । महँगीले जनता आजित भएका छन् । छिटोभन्दा छिटो राहत प्याकेज घोषणा गरेर महँगी नियन्त्रण गरिएन भने हामी चुप लागेर बस्दैनौं ।”
कार्यक्रममा नेकपा (एमाले) निकट अनेरास्ववियुकी अध्यक्ष सुनीता बरालले सरकारी गाडीलाई सडकमा रोक लगाइने बताइन् । उनले भनिन्, “यो सरकारले जनतालाई निमर्मतापूर्वक महँगी बढाएर आत्महत्या गर्ने अवस्थामा पुर्‍याउन खोजेको छ । हामीले सडकदेखि संसदसम्म यसविरुद्ध आवाज उठाउँछौं । पहिलो चरणमा सरकारी गाडीलाई सडकमा रोक लगाउछौं । बिस्तारै निषेध गर्नुपर्ने अवस्था आउँछ । निकम्मा र गैरजिम्मेवार सरकारलाई मूल्यवृद्धि फिर्ता लिन बाध्य बनाउने तागत हाम्रो संगठनसँग छ ।”
नेत्रविक्रम चन्द विप्लव निकट अनेरास्ववियु (क्रान्तिकारी) अध्यक्ष प्रकाश शाहीले मूल्यवृद्धि विरुद्धको आन्दोलनलाई जनआन्दोलनकै रुपमा विकास गर्ने चेतावनी दिए । शाहीले भने, “हाम्रो संगठनले राष्ट्रघात, मूल्यवृद्धि र शैक्षिक बेथितिविरुद्ध नियमित खबरदारी गरिरहेको छ । जनताको गाह्रोसाह्रोमा सरकार अभिभावक बन्न सकेन । यस्तो निकम्मापन र गैरजिम्मेवारीलाई हेरेर हामी मूकदर्शक बन्न सक्दैनौं । यसमा राज्यले पुनर्विचार गरेन भने जनआन्दोलनकै रुपमा लैजाने सोचिरहेका छौं ।”

 



प्रतिक्रिया दिनुहोस्