Logo

भारतीय दूतावासमा आयोजित योग अभ्यासमा प्रधानमन्त्रीदेखि बालबालिकासम्म सहभागी (फोटोफिचर)



काठमाडौं, असार ७ । ‘मानव जीवनका लागि योग’ भन्ने आह्वानसहित आज नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय योग दिवस मनाइदै छ । अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर काठमाडौंस्थित भारतीय दूतावासमा आयोजना गरिएको योग अभ्यास कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, सुचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की लगायत सरिक भएका छन् ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले नियमित योग अभ्यासले व्यक्ति तनावबाट मुक्त र स्वस्थ हुने बताएका छन्। योगले काममा सकारात्मक गुण र कार्यक्षमताको विकास गर्ने बताउदै उनले नियमित योगले रोगप्रतिरोधात्मक क्षमतासमेत वृद्धि हुने जनाए ।

त्यस्तै, शैनिक मुख्यालय (जङ्गी अड्डा) मा आयोजना गरिएको योग कार्यक्रममासमेत प्रधानमन्त्री देउवा सहभागी भएका छन् । शैनिक मुख्यालयको कार्यक्रममा संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, शिक्षामन्त्री देवेन्द्र पौडेल, शहरी विकासमन्त्री रामकुमारी झाँक्री लगायत सहभागी रहेका थिए ।

अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए ।

सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए । सङ्घले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ । सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएको थियो ।

नेपालमा विसं २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो । फोटोः मुकुन्द कालिकोटे / रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्