Logo

असार अन्तिममा प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा हुन्छ, सरकारले राम्रो काम गरेको छ : रामहरि खतिवडा (भिडिओसहित)



काठमाडौं, ७ असार । सत्तारूढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता रामहरि खतिवडाले वर्तमान सरकार संघीय संसद्को निर्वाचनको तयारीमा जुटिसकेको बताएका छन् । उनले भने,‘यो सरकारले अब संघीय संसद्को निर्वाचनको मिति घोषणा गरेर यसको लागि आवश्यक तयारी गरिरहेको छ । अहिले मतदाता नामावाली संकलन भैरहेको छ । हामी असारको अन्तिमतिर निर्वाचनको मिति घोषणा गरेर जान्छौं । सरकारले अहिले त्यहीअनुसारको तयारी गरेको छ । हामी मुलुकलाई स्थिरतातर्फ लैजानेगरि काम गर्छौं ।’

खतिवडाले मुलुकमा विषम परिस्थिति आईपर्दा जहिल्यैपनि कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेर समाधान गरेको स्मरण गराए । यसअघि नेकपाको सरकार हुँदा जनताले दिएको मतअनुसार कांग्रेस पाँच वर्षको लागि नै प्रतिपक्षी भूमिका रहेर काम गर्न तयार थियो भन्ने धारणा राखे । तर, नेकपाको सरकार आफ्नै कारणले ढलेको र पार्टी पनि विभाजन भएको अवस्थामा आफ्नो पार्टीका सभापति शेरबहादुर देउवाले बाध्यताले सरकारको नेतृत्व लिनुपरेको पनि उनले स्मरण गराए ।

उनले भने–‘हामीले प्रतिपक्षीको राम्रो भूमिका निर्वाह गरेका थियौं । आफ्नै कारणले नेकपाको सरकार ढल्न पुग्यो । केपी ओली नेतृत्वको सरकार कानून र संविधानसम्मत रुपमा चलेन । नेकपाकै साथीहरुको साथले हामीले सरकार निर्माण गर्यौं । देउवा नेतृत्वको सरकार गठन भएको एक वर्ष भयो । यो बीचमा स्थानीय तहको निर्वाचन सम्पन्न भयो । निर्वाचन निश्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण रुपमा सम्पन्न भयो ।’

स्थानीय तहको निर्वाचनमा जनताले कांग्रेसलाई पहिलो दल बनाएको उनको भनाई छ । उनले भने,‘अहिले कांग्रेस पहिलो पार्टी भएको छ । यो हाम्रो लागि खुशीको कुरा हो । तर, मुख्य कुरा म सरकारलाई धन्यवाद दिन चाहन्छु कि निर्वाचनमा ठूलो क्षति कहीँ पनि भएन । शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भयो । केपी ओलीले पनि संसद्मा बोल्दा मनमनै यो सरकारलाई धन्यवाद दिनुभयो । म पनि उहाँलाई धन्यवाद दिन चाहन्छु । सरकारले निश्पक्ष रुपमा निर्वाचन गरायो । काठमाडौं, धरान, धनगढीमा स्वतन्त्र उम्मेद्धवारले निर्वाचन जित्नुभयो । दलमात्रै नभएर इृमानदारीताका साथ जनताको माँझ पुगेकाहरु विजयी भए ।’

उनले देउवाले सरकारको नेतृत्व गर्नुपुर्व मुलुकमा कानूनी राज्यनै नभएको आरोप लगाए । उनले भने,‘हामीले सरकार निर्माण गर्दाताका मुलुकमा कानूनी राज्य थिएन । संविधानमाथि बलात्कार भएको थियो । संसद् विघटन गरेर संसदलाई खिल्ली उडाउने काम भएको थियो । आफ्नै पार्टीलाई व्यवस्थापन गर्न नसकेर कानून, संविधानमाथि आक्रमण गर्ने काम भयो । राष्ट्रियताको ठूलो गरियो, तर चुच्चे नक्शा समावेश गरेर पाठ्यपुस्तक छापिएन ।’

उनले आफूहरुले सन्तुलित विदेशी नीतिलाई बढावा दिएको जिकिर गरे । उनले वर्तमान सरकारले भारत र चीन दुवैसँग सुमधुर सम्बन्ध कायम गरेको पनि दाबी गरे । उनले वर्तमान सरकारले राम्रो काम गरेको पनि जिकिर गरे ।

उनले एसपीपी ओली सरकारकै पालामा भएको थियो भन्ने कुरा प्रमाणित भएको सुनाए । तर, वर्तमान सरकारले एसपिपीबारे अब कुनैपनि अन्यौल नराखेको र हिजोको मन्त्रिपरिषद् बैठकले एसपिपी अस्विकार गर्ने भनेर अमेरिकालाई पत्राचार गर्ने निर्णयपनि गरिसकेको खतिवडाले उल्लेख गरे । सरकारले ज्येष्ठ नागरिकलाई भत्ता दिने निर्णय गरेको र विभिन्न जटिल रोग लागेकहरुलाई पनि पाँच हजार रुपैयाँ दिने निर्णय गरेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्