Logo

मन्त्री आलेको जनपक्षीय निर्णय, अब काठमाडौं बाहिरबाट पनि फस्ट फ्लाईट, हेलिकप्टरमा दुई पाईलट अनिवार्य



काठमाडौं, ७ असार । एक्शन ओरिएण्टेड मिनिस्टरको रुपमा चिनिएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले एकपछि अर्को गरेर जनपक्षीय निर्णय गरेका छन् । मन्त्रालयअन्तर्गतका सार्वजनिक सम्पत्तिको संरक्षणदेखि हवाई क्षेत्रको विकृति हटाउने र सुधार गर्न मन्त्री आलेले एकपछि अर्को गरेर बोल्ड डिसिजन गरेका छन् ।

मन्त्री भएकै दिनदेखि उनले आफूले देश र जनताको हित हुने काम गर्ने भन्दै काम गर्न नसके एक सेकेण्डपनि कुर्सीमा टाँसिएर नबस्ने सार्वजनिक प्रतिबद्धता जनाएका थिए । उनले आफूले गरेका प्रतिबद्धता व्यवहारमै उतारेर देखाएका छन् । मन्त्री आलेले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको सुधारको लागि पनि उल्लेखनीय काम गरेका छन् ।

मन्त्री आलेकै निर्देशनमा अब हेलिकप्टरमा अनिवार्य दुई पाईलटको व्यवस्था गरिएको छ । मन्त्री आलेको निर्देशनअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टरमा समेत अब दुई जना पाइलट अनिवार्य रुपमा रहनुपर्ने निर्णय गरेको छ । मन्त्री आलेले रिपोर्टर्स नेपाल डटकमसँगको संक्षिप्त कुराकानीमा भने,‘अब हेलिकप्टरमा पनि हामीले दुई जना पाईलट अनिवार्य रुपमा राख्ने व्यवस्था गरेका छौं । मैले प्राधिकरणलाई यो निर्देशन दिईसकेको छु ।’ यस्तो व्यवस्था गर्नुको पछाडि यात्रुको सेफ्टी नै मुख्य कारण भएको उनको भनाई छ । यो नियम यही असार १७ गतेबाट लागु हुने भएको छ ।

त्यस्तै, काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १७ वटा जहाजमात्रै रहनसक्नेगरि पार्किङको व्यवस्था भएकोमा अहिले क्षमताभन्दा बढि नै जहाज खाँदिएर रहेकोमा अब २० वटा जहाज पार्किङको लागि काठमाडौं बाहिरका एयरपोर्टमा पठाईने भएको छ । मन्त्री आलेले भने,‘सबै जहाज काठमाडौंमा पार्किङ हुँदा पहिलो उडान पनि काठमाडौंबाट नै हुने गरेको थियो, अब जहाजहरु काठमाडौं बाहिर पार्किङ गर्ने हुँदा काठमाडौं बाहिरबाट पनि फस्र्ट फ्लाईट हुन्छ । हरेक ठाउँबाट अब फस्ट फ्लाईट हुन्छ ।’

प्राधिकरणले त्रिभुनव अन्तर्राष्ट्रि विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा रहेका अप्ट्याकल टावर पनि हटाउने तयारी गरेको छ । काठमाडौंको तिनकुनेमा रहेको क्याप्टेन रामेश्वर थापाको अन्नपूण टावर भत्काउने सरकारको तयारी छ । त्यस्तै, भैरहवामा रहेको पशुपति मुरारका अर्घाखाँची सिमेन्टको टावर पनि भत्काउने प्राधिकरणको तयारी छ ।



प्रतिक्रिया दिनुहोस्