Logo

भारतको अग्निपथ के हो र नेपालमा के असर पर्ला



काठमाडौं, ८ असार । यतिबेला भारतमा ‘अग्निपथ’ नाम दिइएको सैनिक भर्तीसम्बन्धी योजना चर्चामा छ । यसको पक्ष विपक्षमा बहस चलिरहेको छ । समर्थनसँगै विरोध प्रदर्शनहरु पनि भइरहेका छन् ।

अग्निपथ सैनिक भर्तीसम्बन्धी योजना हो जसमा ४ वर्षका लागि सैनिक तालिमका लागि नौजवानले अवसर पाउँछन् । जो जो छानिन्छन् उनीहरु मात्र ४ वर्षका लागि सेनामा रहेर तालिम लिन्छन् र सेवा पनि गर्छन् । उनीहरुको अहिलेको स्केलमा मासिक ३० हजार भारु तलब हुन्छ ।

स्वास्थ्योपचारलगायत विभिन्न सेवा र सुविधा पनि हुन्छ । अग्निपथ योजनामा भर्ती भएकाहरुले सेवावधिमा घाइते भएमा या मृत्यु भएमा इन्स्योरेन्स अनुसारको रकम पनि पाउँछन् । ४ वर्षपछि उनीहरु आफ्नो रुचीको क्षेत्रमा जान पाउँछन् ।

अग्निपथ योजना अन्तर्गत भर्ती भएकाहरुमध्ये निश्चित प्रतिशत फेरि सैन्य सेवामा जान पाउँछन् । सबैले सेनामै अवसर भने पाउँदैनन् ।

अग्निपथ योजनाको असर गोर्खा पल्टनमा पनि असर गर्ने देखिएको छ । ६० हजार गोर्खा पल्टन रहेकोमा हाल नेपाली नागरिकको संख्या घट्दो छ । यसको कारण हो गोर्खा पल्टनमा नेपाली भाषी भारतीय भर्ना हुनथाल्नु र कुमाउ र गढवालीलाई पनि भर्ना लिने नीति बनाउनु । ६० प्रतिशत नेपाली नागरिक र ४० प्रतिशत नेपाली भाषी भारतीय लिन थालिए देखि संख्या घट्दै जाने अवस्था बनेको हो ।

अग्निपथ योजनामा नेपाली नागरिक पनि प्रवेश गर्न सक्छन् । यो योजना अनुसार नेपाली नागरिक अग्निवीर बनेपछि निश्चित २५ प्रतिशत गोर्खा पल्टनमा जानसक्छन् । बाँकी अन्य क्षेत्रमा जानुपर्ने हुन्छ । त्यतिञ्जेल उसले झण्डै १५ लाख भारु कमाइसकेको हुन्छ ।

अग्निवीरहरु ४ वर्षका लागि मात्र लिइने भएपनि सेनामा जान चाहने ती मध्येकालाई मौका बढी नै हुन्छ । किनभने अग्निवीरका लागि २५ प्रतिशत कोटा छ । यसको अर्थ अग्निवीर बन्न खोज्ने नेपाली नागरिकको संख्या पनि उल्लेख्य हुनसक्छ ।

भारतमा अग्निवीर तालिम लिने र गोर्खा सैनिकमा अवसर नपाएका या नचाहेकाहरुले देशभित्र र बाहिर सुरक्षासम्बन्धी अवसर पनि पाउन सक्छन् । वैदेशिक रोजगारीमा जान खोज्नेका लागि यो फाइदाजनक हुनसक्छ । तर, सिधै गोर्खा पल्टनमा भर्ती हुन खोज्नेहरुलाई भने असर पर्न सक्छ । अग्निवीरको निश्चित कोटा पनि रहेकाले उनीहरुको संख्या घट्न सक्छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्