Logo

“तातोपानी नाका खोलेर के गर्ने ? यताको सामान जाने होइन, उतैको मात्र आउने हो”



काठमाडौं, ८ असार । नेकपा एमालेका नेता शेरबहादुर तामाङले तातोपानी नाका खोल्ने कुरालाई नारा बनाउन नमिल्ने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता तामाङले भने, “तातोपानी नाका खुलाएर के गर्ने ? यताको सामान जाने होइन, उताको सामान ल्याएर बेच्ने हो । पैसा बुझाउने हो । यसरी मुलुक बन्दैन । नाका खोल्ने कुरालाई नारा बनाउन सकिँदैन ।”
नाका खोल्ने कुरामा चीनलाई दोष लगाउन नमिल्ने पनि तामाङले औंल्याए । उनले थपे, “हामीले विदेशबाट १८ खर्बको सामान ल्याउँछौं, साढे दुई अर्बको सामान पठाउन सक्दैनौं । नाकामा सामान थुप्रेको कुरामा चीनलाई किन दोष लगाउने ? क्लिरेन्स गरेर लिए भैहाल्यो नि । अब हामी भारत वा चीनलाई चिढ्याएर बस्न सक्दैनौं । चीनसँग कुनै समस्या छ भने सरकारले कुरा गर्ने हो । भूकम्पका बेला भारतले मात्र होइन, चीनले पनि अघोषित नाकाबन्दी लगायो । नेपालले भनेजस्तो सपोर्ट पाएन ।”
बजारमा महँगी जनताले थेग्न नसक्ने अवस्थामा पुगेको पनि उनले बताए । तामाङले भने, “महँगीले मुलुक नै ठप्प हुने स्थिति छ । खाद्यान्न, तरकारी, औषधि सबैमा भाउ बढेको छ । जनताको क्रयशक्तिमा फरक परिसक्यो । यसको कारण के हो भने हामीले सक्रिय जनशक्तिलाई पासपोर्ट दिँदै देशबाहिर पठायौं । देशमा उत्पादन हुन सकेन । त्यसैले आकाशिँदो महँगीबाट पार पाउन सकेनौं । अब हामीले एकले अर्कालाई दोष लगाएर उम्किने ठाउँ छैन । महँगीका सम्बन्धमा संसदीय समिति गठन हुन्छ भने हामी सघाउन तयार छौं ।”
एमाले नेता तामाङले नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउन नभनेको पनि दाबी गरे । उनले भने, “अध्यक्ष ओलीले पार्टी फुटाउनोस्, पार्टीबाटबाहिर आउनोस् भन्नुभएको छैन । यो गठबन्धन गरेर जानुहुन्छ भने पनि हामी चुनावको तयारीमा लाग्छौं । तर मुलुकको विकास र समृद्धिका लागि एमालेले एजेन्डा प्रस्तुत गर्छ । एमाले एक्लै लड्छ, त्यसले केही फरक पर्दैन ।”



प्रतिक्रिया दिनुहोस्