Logo

माओवादी केन्द्रले एमालेसँग गठबन्धन गर्ने हो भने प्रतिगमनविरोधी आन्दोलनको पुष्ट्याइँ हुन्नः देवेन्द्र पौडेल



काठमाडौं, ८ असार । शिक्षामन्त्री देवेन्द्र पौडेलले नेकपा एमालेको चाहनामा गठबन्धन नटुट्ने दाबी गरेका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री पौडेलले भने, “गठबन्धन टुट्ने गरी अहिलेसम्म त्यस्तो कुनै समस्या आएको छैन । हामी गठबन्धनलाई संघ र प्रदेशको चुनावसम्म लैजाने पक्षमै छौं । जहाँसम्म नेकपा एमालेको कुरा हो, उसले संघ र प्रदेशमा पनि चाहेको थिएन, स्थानीय चुनावमा पनि चाहेको थिएन ।”
नेकपा (माओवादी केन्द्र) को नेतासमेत रहेका पौडेलले आगामी चुनावमा एमालेसँग गठबन्धन गर्ने हो भने विगतमा गरिएको प्रतिगमनविरोधी आन्दोलनको पुष्ट्याइँ नहुने पनि उनले बताए । पौडेलले भने, “हाम्रा नेता नारायणकाजी श्रेष्ठले केपी ओलीलाई भेटेर गठबन्धन तोड्नुपर्छ भनेको कुरा साँचो होइन । अहिलेको स्थितिमा एमालेसँग गठबन्धन गर्दा विगतको प्रतिगमनविरोधी आन्दोलनको पुष्ट्याइँ हुन्न ।”
गठबन्धनलाई निन्तरता दिने कुरामा एकमत भए भागबन्डामा प्रवेश नगरेको पनि उनले बताए । पौडेलले भने, “चुनावको घोषणा नै भएको छैन । तर आजको आजै सिट बाँडफाँडको भागबन्डामा प्रवेश गर्ने कुरा हुँदैन । गठबन्धनका दलभित्र आन्तरिक समस्या छन् । त्यसलाई मिलाएर जानुपर्छ । तर वामपन्थीहरु मिल्दा के हुन्छ, भन्ने कुरा कांग्रेसले पनि मनन गर्नुपर्छ ।”
पत्रकार धमलाको प्रश्नमा मन्त्री पौडेलले मूल्यवृद्धि नियन्त्रणमा सरकारको ध्यान जाने पनि बताए । ९६ प्रतिशत सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेको र बाँकी ठाउँमा पनि छिट्टै पुग्ने उनले जानकारी दिए । एसपीपीमा सहभागी नभए पनि दातृनिकायले सहायता बढाइरहेको दाबी पनि उनले गरे ।



प्रतिक्रिया दिनुहोस्