Logo

‘सिद्धान्तविहिन’ रविको यात्रा कता



काठमाडौं, ८ असार । रवि लामिछानेले पशुपतिनाथको दर्शन गरेर पार्टी घोषणा गर्दा चन्दन लगाएका थिए । उनले चुनाव चिन्ह पनि घन्टा घोषणा गरे । तर, लामिछाने नेतृत्वको नेपाल स्वतन्त्र पार्टीको राजनीतिक सिद्धान्त के हो र गन्तव्य के हो स्पष्ट छैन । उनले आफूलाई न त हिन्दूवादी भन्न सके न त राजसंस्थाका पक्षधर नै । न त उनले आफूलाई गणतन्त्रवादी होइन भन्न सके । न त धर्मनीरपेक्षको विरोधी हुँ भन्न सके ।

लामिछाने अमूर्त तरिकाले राष्ट्रिय सभागृहमा प्रस्तुत हुँदा सर्वसाधारणले पाएको पीडाको कुरा गरे । शासन सत्तामा रहेकाहरुको विरोध गरे । व्यवस्था नभई अवस्था बदल्न आएको भने । यसको अर्थ उनी गणतन्त्र, धर्मनीरपेक्ष र संघीयतासहितको राजनीतिक व्यवस्थालाई स्वीकार्ने गरी आएको स्पष्ट छ ।

कुनै पनि राजनीतिक दलको जग सिद्धान्तमा टिकेको हुन्छ । सिद्धान्त र व्यवहारवादको दुई पाङ्ग्राबाट राजनीतिक रथ गुड्छ । तर, रवि लामिछाने कुन सिद्धान्तबाट निर्दिष्ट भएर दललाई गुडाउने हुन् ? स्पष्ट छैन । त्यसैले त रवीन्द्र मिश्रले आफूले पार्टी गठन गर्दा त्रुटी भएको स्वीकार्दै रवि लामिछानेलाई त्यही गल्ती नदोहोराउन सुझाव दिएका छन् । रवीन्द्र मिश्रले पार्टी गठन त गरे तर उनी कुनै सिद्धान्तको जग बसालेर बढेका थिएनन् । पछि मात्र उनले हिन्दूराष्ट्र को पक्षमा र गणतन्त्रको विरोधमा बहस चलाउन खोजे ।

नेपालका मुख्य राजनीतिक दलहरु कुनै न कुनै सिद्धान्तको जगमा उभिएका छन् । नेपाली काँग्रेसले समाजवाद, नेकपा एमालेले जनताको बहुदलीय जनवाद, नेकपा माओवादी केन्द्रले माओवाद, नेकपा एकीकृत समाजवादी पार्टीले जनवादको लक्ष्य लिएर समाजवाद, राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रवादको सिद्धान्तबाट राजा फर्काउने उद्देश्य लिएका छन् । सिद्धान्तको जगमा उभिएका यी दलहरुको देशभर संगठन पनि छन् । त्यसैले उनीहरु टिकेका छन् ।

रवि लामिछानेले शहरी युवाहरुको केही समूहलाई आकर्षित गर्न सकेका छन् । तर, उनको क्रेज देशभर सञ्चारकर्मीको रुपमा रहेको छ न कि राजनीतिक दलको नेता । सञ्चारकर्मीबाट नेताको रुपमा रुपान्तरित हुँदा उनले उस्तै क्रेज टिकाउन सक्ने सम्भावना कम छ । लोकप्रीय हुनु र मत पाउनुमा फरक छ । रविलाई यहीनेर चुनौती छन् ।

केही गम्भीर प्रश्नहरुमा रवि स्पष्ट छैनन् । जसमा धर्म, संस्कृति, भाषा, लिपि, संघीयता, समावेशितालगायतका मुद्दाहरु छन् । देशभित्र भित्रिएका बाह्य सिद्धान्तलाई टक्कर दिने सिद्धान्तको जगमा उनी उभिनसक्ने सम्भावना पनि कम छ किनभने उनी लामो समय अमेरिका बसे । नेपाली झण्डा बोकेर नेपाली टोपी लगाएपनि उनमा अमेरिकी संस्कृतिको छाप उत्तिकै छ । यी प्रश्नहरुका उत्तरहरु अब खोजिनेछन् । रविलाई यीनको उत्तर दिन सजिलो पनि छैन ।-File Photo: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्