Logo

‘सपनाकाे समाधि’ लिएर आइन् शान्ति



काठमाडौं । कवयित्री शान्ति शर्मा तेस्रो काव्यकृति ‘सपनाको समाधि’ लिएर पाठकमाझ आएकी छन् । नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, लेखक जीवा लामिछाने, प्राज्ञ डा. देवी नेपाल, कवि प्रल्हाद पोखरेल र सांसद आङदाबा शेर्पाले एकसाथ काठमाडौंमा एक समारोहबीच शर्माकृत कवितासङ्ग्रहको विमोचन गरे ।

कार्यक्रममा कुलपति उप्रेतीले शान्तिको सिर्जनाकला प्रशंसायोग्य रहेको भन्दै अझ सुन्दर र सशक्त सिर्जनाका लागि शुभकामना दिए भने कवयित्री मोमिलाले शान्तिका कविताका विषय र शिल्प बेजोड रहेको टिप्पणी गरिन् ।

प्राज्ञ डा. नेपालले शान्तिले छोटो समयमै उत्कृष्ट सिर्जना गरेर उदाहरण प्रस्तुत गरेको औंल्याए भने साझा प्रकाशनका महाप्रबन्धक प्रह्लाद पोखरेलले शान्तिका कवितामा जीवन, जगत र प्रकृतिको सुन्दर र कलात्मक संयोजन भएको बताए ।

साझा प्रकाशनद्वारा प्रकाशित सङ्ग्रहमा प्रेम, प्रकृतिसहित विभिन्न विषयवस्तुका ४७ वटा लामा-छोटा समसामयिक कविता समेटिएको छ। यसअघि शर्माका ‘अम्लान फूल’ गजलसङ्ग्रह र ‘बार्दलीमा जून’ मुक्तकसङ्ग्रह प्रकाशित छन्।

दियालो साहित्य सरगमका वरिष्ठ उपाध्यक्ष शिवराम खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा ‘नसोधिदेऊ बिन्ती’ नामक म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो । निशान घिमिरेद्वारा निर्देशित उक्त म्युजिक भिडियोमा धीरेन शाक्य, शान्ति शर्मा र मोना वर्णवालको अभिनय रहेको छ । शान्ति शर्माद्वारा रचित गीतमा हरि लम्सालले संगीत गरेका छन् भने वाणिका प्रधानले आवाज दिएकी छन् । म्युजिक भिडियोबारे सङ्गीतकार सुरेश अधिकारीले बोलेका थिए ।



प्रतिक्रिया दिनुहोस्