Logo

सरकारी स्वामित्वका दुई जलविद्युत् आयोजनाको ठेक्का प्रक्रिया नै अलमलमा



काठमाडौं, असार ८ । यसै वर्ष आयोजना निर्माणको थालनी गर्ने तयारीका सरकारी स्वामित्वका दुई जलविद्युत् आयोजनाको ठेक्का प्रक्रिया नै अलमलमा छ ।

ठेक्कामा ईपीसी मोडेल अपनाउन खोजेका तामाकोसी–५ र माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनाले ‘ईपीसी माध्यमबाट खरिद गर्नेसम्बन्धी निर्देशिका २०७८’ को बुँदा नम्बर १४ को प्रावधानका कारण बोलपत्र आह्वानको प्रक्रियामा जान सकेका छैनन् ।

निर्देशिका अनुसार ईपीसी ठेक्कामा आयोजना निर्माणका क्रममा हुने सम्पूर्ण जोखिम निर्माण कम्पनीमै हुन्छ । यस्तो प्रावधानले ठेक्का लागत नै उच्च हुने तथा जोखिम देखिने अवस्था आए ठेकेदार नै पछि हट्ने भएकाले आयोजनाको प्रवद्र्धक नेपाल विद्युत् प्राधिकरण ठेक्का प्रक्रियामा जान हच्किएको हो ।

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको क्यासकेड आयोजनाका रूपमा ९९।५ मेगावाट क्षमताको तामाकोसी–५ निर्माण आगामी आर्थिक वर्षभित्र गर्ने तयारी प्राधिकरणको छ ।

दोलखाको सुरी दोभानमा विद्युत् गृह रहने सो आयोजनाको विस्तृत आयोजना प्रतिवेदन तयार भइसकेको छ भने वित्तीय लगानी पनि कर्मचारी सञ्चय कोषले गर्ने समझदारी भएको छ । जनताको जलविद्युत् कार्यक्रममा समेत यो आयोजना समेटिएको छ । यद्यपि वित्तीय व्यवस्थापन सम्झौता भने भइसकेको छैन ।

प्राधिकरण मातहतकै ४२ मेगावाट क्षमताको अपर मोदी ‘ए’ पनि २ महिनाभित्र ठेक्का प्रक्रिया सुरु गर्ने गरी तयारी अवस्थामा छ । सो आयोजनामा पनि एचआईडीसीएल र एनएमबी बैङ्कसँग आयोजनामा लगानीका लागि समझदारी (टर्मसिट एग्रिमेन्ट) गरिसकेको छ ।

आयोजना प्रवद्र्धक मोदी जलविद्युत् कम्पनीका प्रबन्ध सञ्चालक सूर्य पौडेलका अनुसार दुई महिनाभित्रै बोलपत्र आह्वान गर्ने तयारी छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्