Logo

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता



काठमाडौं, असार ९ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ।

अध्यक्ष नेपाल माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न आज बिहान खुमलटार पुगेको हुन् । दुई नेताबीच मन्त्रीमण्डल पुर्नगठनको विषयमा करिब आधा घण्टा छलफल भएको नेपालको सचिवालयले जनाएको छ।

प्रचण्डसंगको भेटवार्चापछि अध्यक्ष नेपाल प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटरतर्फ लागेका छन् । एकीकृत समाजवादीले सचिवालय बैठकबाटै आफ्ना मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरिसकेको छ ।

बुधबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले तत्काल मन्त्री हेरफेर गर्न प्रधानमन्त्री देउवालाई दबाव दिने निर्णय गरेको थियो।

मन्त्री हेरफेरमा प्रधानमन्त्रीले ढिलाइ गरेको भन्दै एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालसहितका केही नेताले सार्वजनिक रूपमै असन्तुष्टि जनाउँदै आएका छन् ।

एकीकृत समाजवादीले मन्त्रीहरू प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठ, विरोध खतिवडा र रामकुमारी झाँक्रीलाई फिर्ता बोलाएर जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगार र भवानी खापुङलाई स्वास्थ्यमन्त्री तथा हीरा केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाउने निर्णय गरिसकेको छ ।

सत्ता गठबन्धनमा रहेका एकीकृत समाजवादी र जनता समाजवादीले आफ्नोतर्फबाट सहभागी मन्त्री परिवर्तन गर्न चाहेपनि कांग्रेस र माओवादीले भने तत्काल मन्त्री हेरफेर गर्न चाहेका छैनन् ।



प्रतिक्रिया दिनुहोस्