Logo

न्यायाधीशलाई दुई करोड घुस अफर गर्ने वकिल खड्गप्रसाद ओलीको खाँटी मान्छे हो, चोलेन्द्रशमशेरले राजीनामा दिनुपर्दैन भन्ने वकिल होः रामनारायण बिडारी



काठमाडौं, ९ असार । नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाभियोग प्रस्ताव नतुहिने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बिडारीले भने, “महाभियोग अलपत्र परेको होइन, तुहिँदैन । सभामुखले चाँडै टुंग्याउनुपर्नेमा ढिलो भइरहेको छ । मेरो प्रश्न छ, सभामुखले समितिमा राम्रोसँग छलफल किन गराएको ? आज चोलेन्द्रशमशेर नभए पनि उनका मान्छे न्यायालयमै छन् । न्यायाधीशलाई दुई करोड घुस अफर गर्ने वकिल खड्गप्रसाद ओलीको खाँटी मान्छे हो, चोलेन्द्रको पक्षमा लागेको मान्छे हो । खड्ग ओली महाभियोगको पक्षमा हुनुहुन्न । उहाँले भोट नहाल्ने भएकाले पनि महाभियोग किनारा लगाउन ढिलो भएको हो ।”
व्यवसायी इच्छाराज तामाङलाई जेलबाट छुटाउन घुसको सेटिङ गर्ने न्यायाधीश राजकुमार कोइराला र वकिल रुद्र पोखरेलमाथि बार काउन्सिल र न्यायपरिषद्ले छानबिन गर्नुपर्ने उनले बताए । बिडारीले भने, “न्यायालयभित्र विकृति, विसंगति, घुसखोरी र भ्रष्टाचार छ भनेर हामीले भन्दै आएका हौं । रुद्र पोखरेल भनेका हिजो बारमा आन्दोलनकारीविरुद्ध चोलेन्द्रशमशेरको पक्षमा लागेर हिँडेका कानुन व्यवसायी हुन्, राजीनामा दिनुपर्दैन भन्ने मान्छे हुन् । सम्बन्धित न्यायाधीशले न्यायपरिषदले र वकिललाई बार काउन्सिलले छानबिन गर्नुपर्छ । त्यो पुष्टि भएमा निलम्बन, लाइसेन्स रद्द, जरिवाना, सजाय गर्न सक्छ ।”
न्यायालयका बिचौलिया कर्मचारी, वकिल र न्यायाधीश नै भएको उनले औंल्याए । बिडारीले भने, “न्याय बिक्री भयो भने जनताले न्याय पाउन सक्दैनन् । विदेशमा न्यायाधीशले घुस खानु भनेको नवौं आश्चर्य हो । खपिनसक्नु सहिनसक्नु कुरा हो । तर यहाँ सामान्य छ । यस्ता कुरा दिनहुँ भइरहेका छन् ।”



प्रतिक्रिया दिनुहोस्