Logo

नेपाल आमाको चित्तमाथि एकपछि अर्को प्रहारविरुद्ध मेरो उम्मेदवारी



डा. दीपेश केसी:

‘साहस सौर्य भएपनि एकता नभएपछि राष्ट्र पराजित हुन्छ,’ चाणक्यको यो भनाई मेरो हृदयमा गडिएको छ ।

हामीबीच जनजनको एकता टुटाउने षड्यन्त्रहरु धेरै पहिले देखि चल्दै आए । जातीय, क्षेत्रीय, समुदायमा फरक भएपनि ‘हामी नेपाली हौं’ भन्ने भावना जगाउने एकताका धागाहरु थिए । एकतावद्ध बनाउने धागाहरु धर्म, संस्कृति, भाषा र इतिहास नै हुन् । त्यसमाथि नै योजनावद्ध आक्रमण गरी कमजोर पार्दै चुडाल्ने प्रयासहरु भए । हामीलाई टुटाउने, फुटाउने र लडाउने खेलहरु भए । नेपाली जनताले विश्वास गरेका दलका केही शीर्ष भनिएका नेताहरु नै क्षणिक स्वार्थका लागि षड्यन्त्रका सहयोगी बने । जनतामाथि विश्वासघातहरु भइरहे । कतिपय जिम्मेवार व्यक्तिहरु किनाराका साक्षी बने । विद्रोहको इच्छा गरे तर साहस गरेनन् ।

 

निरन्तर रुपमा संस्कृति, धर्म, भाषा, लिपीमाथि हुँदै आएको आक्रमण कुनै पनि नेपालीका लागि सह्य हुन सक्दैन । सनातन हिन्दु, बौद्धसहित पूर्वीय दर्शनको जगमा उभिएको देशको राजनीतिक प्रणालीलाई भत्काएर सत्तामा बस्नेहरुले बनाउन थालेको तासको घर कुनैपनि बेला गर्लामगुर्लुम ढल्नेमा कुनै द्वुविधा छैन । तर, नेपाली जनता र नेपाल आमाले कति दुःख खेपिरहनुपर्ने हो भन्ने विचारणीय विषय हो ।

 

सुरुमा धर्म त्यसपछि गुठी जस्ता सांस्कृतिक संस्थाहरुमाथि योजनावद्ध आक्रमणहरु भए । हुँदा हुँदा इम्बोस्ड नम्बर प्लेटको नाममा नेपाली भाषा र देवनागरी लिपि मेट्ने योजना भयो । सर्वसाधारण नेपालीकै रकम प्रयोग गरेर नेपाली भाषा र देवनागरी लिपिमाथिकै आक्रमण नेपालको चित्तमाथि प्रहारको पछिल्लो शृंखला हो । हरेक पटक देशको चित्तमाथि प्रहार भइरहँदा नेताहरु मूकदर्शक बने त कोही सहयोगी । जस्ले जे गर्दा पनि हुन्छ भन्ने प्रवित्ति सर्वत्र देखिएको छ । यसले आम नेपालीमा वितृष्णाको सुसुप्त ज्वालामुखी संचित भएको छ, कुन दिन कसरी विष्फोट हुने हो त्यो भन्ने मात्र ठेगान छैन।

 

सभ्यतालाई नै मास्ने गतिविधि विभिन्न कोणबाट हुने गरेको विश्व इतिहास साक्षी छ । कुनै पनि समाजलाई ध्वस्त पार्नुछ भने उसको धर्म, भाषा, संस्कृति, इतिहासमाथि नियोजित आक्रमण गर्ने गतिविधि हुन्छ नै । त्यसको प्रयोग नेपाल र नेपालीमा भइरह्यो । नेपाल राष्ट्रको निर्माण पछाडिका कतिपय ऐतिहासिक तथ्यहरुलाई तोडमोड गर्दै सर्वसाधारणको दिमागमा भ्रम फैलाउन खोजियो । पृथ्वीनारायण शाहको शालिकमा तोडफोड भयो । यो नेपाल एकीकरणमाथिको चुनौती थियो । यस्ता गतिविधि निरुत्साहित गर्नुको साटो प्रोत्साहन गर्ने कार्य भयो । नेपाल एकीकरण गर्ने नायक कै अपमान गरियो ।

 

आधुनिकता शिक्षाका नाममा देशको परम्परा, धर्म र संस्कृतिमाथि प्रहार गर्ने गरी पाठ्यपुस्तकहरु तयार भए । बाल मनोविज्ञान नै नकारात्मक दिशातर्फ मोड्ने गरी पाठ्यपुस्तक तयार भयो । एउटा बालकले आफ्नो माता पितालाई कुरुप भन्ने अवस्था निर्माण गर्ने पाठ्यपुस्तक विद्यालयहरुमा पुग्दा पनि जिम्मेवार दलहरु चुइक्क बोलेनन् । शिक्षाका माध्यमले संस्कृतिमाथि प्रहारको नियोजित योजनाहरु भइरहे ।

 

देशको संस्कृति र सभ्यतालाई नै माँस्ने गरी योजनावद्ध रुपमा भएका यस्ता गतिविधिबाट लाखौं युवाहरु प्रभावित भइसकेका छन् । यतिसम्मकी, हरेक बालक आफ्नो मातृभाषा नै बोल्न छाड्ने अवस्था बनाइँदैछ । नेपाली भाषी होस् या नेपाल भाषा नै किन नहोस् बालबालिका आफ्ना भाषा र संस्कृतिबाट टाढिने अवस्था विकास भएको छ । अन्य भाषाको सन्दर्भमा पनि यस्तै भइरहेको छ । यस्तो हुनु एउटा स्वतन्त्र राष्ट्रका लागि कदापि शुभ होइन । कुनै पनि राष्ट्रको अस्तित्व यी र यस्तै गतिविधिले खतरामा पर्छन् ।

 

यस्ता यावत् गतिविधिहरु लोकतन्त्रको खोल ओढेर चलि नै रहेका छन् । यसविरुद्ध कोही त बोल्नुप¥यो । कसैले त लेख्नुप-यो । कसैले त नीति निर्माण तहमा नै परिवर्तन गरेर हाम्रो धर्म, संस्कृति, भाषा, इतिहासको जर्गेना गर्नुप-यो l एक जिम्मेवार नेपाली नागरिक भएकाले मभित्र यो चेत छ । त्यसैले मैले यावत गलत प्रवित्तिका विरुद्ध लड्न आगामी संसदीय निर्वाचनमा ललितपुर क्षेत्र नम्बर-२ बाट स्वतन्त्र उम्मेदारी दिने निश्चय गरेको छु l

 

पत्रकारितामा रहँदा धमं, संस्कृति, भाषा, इतिहासमाथिको हमलाविरुद्ध निरन्तर कलम चलाइरहें । विभिन्न लेखहरुमार्फत् अझै पनि चलाइ नै रहनेछु । तर, मूल विषय नीति निर्माण तहबाटै परिवर्तनबाट हुनसक्छ । यसका लागि समाज र राष्ट्रप्रति जिम्मेवारबोध, नैतिकवान र भावी पुस्तालाई सकारात्मक सन्देश दिनसक्ने व्यक्ति पुग्नैपर्छ । कालिदासले भनेजस्तै माटो नराम्रो हुँदैन मनुष्य नराम्रो हुनसक्छ । तर, नेपालको असल माटोमा असल मानिसहरु नै जिम्मेवार निकायमा पुग्नुपर्छ । अनि त देशको धर्म, संस्कृति, परम्परा, भाषा, इतिहास जोगिनसक्छ ।

 

महाभारतमा भनिएजस्तै चाहे धर्म होस् या अधर्म, चाहे सत्य होस् या असत्य सून्यमा जिउन सक्दैन । उसलाई पनि उम्रन र हुर्कनका लागि समाजको उर्वर भूमि चाहिन्छ । कोही युधिष्ठिर चाहिन्छ कोही धृतराष्ट्र चाहिन्छ । भन्नुको तात्पर्य प्रकाशको लागि सूर्य चाहिन्छ, चन्द्रमा चाहिन्छ या दीयो चाहिन्छ । कुनै सून्य मरुस्थलमा भड्किएर यसको शब्द र अर्थ मिल्दैन । त्यसका लागि मैदानमा आउनुपर्छ, सिक्नुपर्छ, सिकाउनुपर्छ र भोग्नुपर्छ । आवश्यक परे संघर्ष पनि गर्नुपर्छ ।

 

परिस्थिति बदल्ने साहस जसमा हुँदैन उसले परिस्थिति सहनुपर्छ । हामी नेपालीले कहिलेसम्म अनियमितताको पराकाष्ठ, अत्याचार, सभ्यतामाथिकै प्रहारको परिस्थिति कहिलेसम्म सहने ? हो अब विस्तारै देशको गाउँ टोलको माटोबाट देशभक्तहरुको उदय भइरहेको छ र हुनुपर्छ । राष्ट्रको चित्तमाथिको योजनावद्ध प्रहार राष्ट्रलाई नै सांस्कृतिक आक्रमण गरी सक्ने षड्यन्त्र हो भन्ने जगजाहेर छ । यसविरुद्ध हरेक सचेत नागरिकले देशको कुना काप्चाबाट धक्का दिन जरुरी छ । त्यो धक्का अब मतबाट हुनुपर्छ । त्यस्तो मत जस्ले देशभक्तलाई बलियो बनाओस् । त्यस्तो मत जस्ले सनातन धर्म संस्कृतिको रक्षा गरोस् । त्यस्तो मत जस्ले भाषा र लिपिको रक्षा गरोस् । त्यस्तो मत जस्ले हरेक नेपालीलाई गर्व गर्न लायक राजनीतिक नेतृत्व विकास गरोस् । थोपा थोपाबाट समुन्द्र बन्छ ।

 

स्वतन्त्र उम्मेदवारका रुपमा म एक्लो छैन । मलाई देशभक्त, आफ्नो धर्म संस्कृति परम्परा र मातृभाषाको रक्षाका लागि जाग्नुभएका सबै सबै सचेत नागरिकको साथ सहयोग रहनेछ ।  म केवल एउटा पात्र हुँ, जो नागरिकको भावनाको सम्बोधन गर्न सेवक बनेर नागरिककै सामु खडा हुँदैछु, आफ्नै जन्मथलो ललितपुर-२ मा । यहाँको पवित्र माटोमा जन्म लिन पाएर म धन्य भएको छु । यहाँको माटो र ढुङ्गालाई मैंले बुझेको छु र भोगेको छु । त्यसैले यहाँको जन जनको भावनाको प्रतिनिधित्व गर्दै सनातन धर्म, संस्कृति, परम्परा, भाषा र गौरवशाली इतिहासको रक्षाका लागि मेरो उम्मेदवारी हुनेछ ।

 

जोभित्र जति सत्य हुन्छ उसँग त्यति नै सामथ्र्य हुन्छ । हामी सत्यको पक्षमा छौं त्यसैले हामीसँग सामथ्र्य छ । आत्मबल छ र आत्मविश्वास छ । म एक्लो छैन र देशभर हाम्रा समान मुद्दाका साथ खटिरहनुभएका लाखौं व्यक्तित्वहरु हुनुहुन्छ । एउटा जग तयार भइरहेको छ । त्यो जग मजबुत बनाउनका लागि पनि मेरो उम्मेदवारी हो । बोलीमा होइन व्यवहारमा, कुरामा होइन कर्ममा विश्वास गर्दै आएको छु मैले । चुनावमा भन्दा मुद्दामा मेरो ध्यान हुँदै आएको छ । म फल र वृक्षलाई नभई सिंगो जङ्गलको रक्षामा ध्यान दिइरहेको छु । गन्तव्य निकै टाढा र जटिल यात्राबाट मात्र पार हुन्छ भन्नेमा जानकार पनि छु । तर, प्रतिवद्धता, इमान्दारिता र निरन्तरताले गन्तव्यमा पुग्न सकिन्छ भन्नेमा विश्वस्त छु । त्यसैले  आमाबुवा, दाजुभाई दिदीबहिनीहरुको इजलासमा खडा हुँदा उहाँहरुले जे फैसला गर्नुहुन्छ म भगवान्को प्रसाद सम्झेर ग्रहण गर्नेछु ।

 

नेपाल आमाको जय !



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम