Logo

कोइराला र पोखरेललाई हिरासतमा राखेर छानबिन गर्न राप्रपाको निवेदन



काठमाडौं, ९ असार । केही दिन यता अडियो सार्वजनिक भएसँगै विवादमा मुछिएका न्यायाधीश र अधिवक्ताविरुद्ध न्याय परिषदमा निवेदन परेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलमाथि छानबिन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीको सुशासन विभागको तर्फबाट प्रवक्ता ज्ञानेन्द्र शाहीले निवेदन दिएका हुन् ।  राप्रपाले न्यायाधीशलाई पदबाट बर्खास्त र अधिवक्ताको लाइसेन्स खारेजीको माग गरेको छ ।

शाहीले कोइराला र पोखरेललाई तुरन्त पक्राउ गरी थुनामा राखेर अनुसन्धान गर्न आग्रह गर्दै आफुहरुले दिएको निवेदन कार्यान्वयन नभएमा आन्दोलन गर्ने पनि चेतावनी दिए । उनीहरुलाई पक्राउ गर्न अडियो नै पर्याप्त भएको भन्दै उनीहरुलाई हिरासतभित्र राखेर छानबिन गर्न समेत माग गरे ।

कोइराला र पोखरेल २ करोड रुपैयाँ घुस लिने र प्रहरीको हिरासतमा रहेका इच्छाराम तामाङलाई धरौटीमा रिहा गर्ने विषयमा भएको फोन संवाद सार्वजनिक भएको थियो ।

उक्त अडियोबारे अनुसन्धान गर्न न्याय परिषदले छानबिन समितिसमेत बनाएको छ ।



प्रतिक्रिया दिनुहोस्