Logo

४० सिट पनि नपाए केका लागि गठबन्धन गर्ने ? अब एमालेसँग पानी बाराबार गर्नुपर्छ भन्ने मलाई लाग्दैनः झलनाथ खनाल



काठमाडौं, १० असार । नेकपा (एकीकृत समाजवादी) सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीका नयाँ मन्त्री तत्काल नियुक्त नगरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खनालले भने, “प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन संस्कृतिअनुसार अघि बढ्नुभएको छैन । हाम्रो पार्टीले प्रधानमन्त्रीलाई नयाँ मन्त्रीको नाम दिएको तीन हप्ता पुग्न लाग्यो । त्यो अहिलेसम्म कार्यान्वयन नहुनु आश्चर्यजनक कुरा हो । गठबन्धनका प्रमुखले त्यसलाई तदारुकताका साथ कार्यान्वयन नगर्नु हामीलाई अपमान गरे सरह हो । अब गम्भीर परिणाम भोग्नुपर्ने पनि हुन सक्छ ।”

“मन्त्री नियुक्ति नहुनुमा माधव नेपालको कमजोरी”
पार्टी कमिटीले गरेको निर्णय कार्यान्वयन नहुनुको जिम्मा पार्टी अध्यक्ष माधवकुमार नेपालले लिनुपर्ने पनि उनले औंल्याए । खनालले भने, “हाम्रो पार्टीको सचिवालयले एकमतले नयाँ मन्त्री पठाउने निर्णय गर्यो । स्थायी समितिले पनि त्यसलाई एकमतले अनुमोदन गर्यो । अब पोलिटब्यूरो र केन्द्रीय समितिको बैठकले के गर्छ, हेर्न बाँकी छ । पार्टी कमिटीले निर्णय गरेपछि कार्यान्वयन गर्ने जिम्मा अध्यक्षको हुन्छ । त्यो हैसियतमा माधव नेपालले किन गर्नुभएन भन्ने प्रश्न उठ्छ । उहाँले प्रधानमन्त्रीलाई यथोचित् रुपमा भन्नुभएन कि भन्ने कुरा पनि उठ्छ ।”
चार जना मन्त्रीले त पार्टीले संस्थागत निर्णय नगरी फिर्ता बोलाएको आरोप लगाएका छन् नि भन्ने पत्रकार धमलाको प्रश्नमा सम्मानित नेता खनालले भने, “स्थायी समितिमा मन्त्रीहरु स्वयं सहभागी भएका थिएनन् ? संस्थागत निर्णय भनेको के ? सचिवालयले मन्त्री पठाउँदा संस्थागत हुने, फिर्ता बोलाउँदा संस्थागत नहुने ? यो पार्टीले पालो पुर्याएको हो भन्ने बुझ्नुपर्छ । तर, पार्टीले निर्णय गरेको कुरा कार्यान्वयन नहुनु गम्भीर कुरा हो । पार्टी निर्णय कार्यान्वयन भएन भने पार्टीको औचित्यमाथि ठूलो प्रश्न उठ्नेछ ।”

“प्रेम आलेभन्दा दोषी प्रधानमन्त्री !”
मन्त्री प्रेम आलेले नेकपा (एकीकृत समाजवादी) का १८ जना सांसदले माधव नेपाललाई संसदीय दलको नेताबाट हटाउने चुनौती दिएको कुरा पनि आएको छ नि भन्ने धमलाको प्रश्नमा खनालले भने, म यस्तो खालको हवाई कल्पनाबारे कुनै टिप्पणी गर्दिनँ । यदि साँच्चै हो भने पार्टी तत्काल एक्सनमा उत्रिनुपर्ने हुन्छ । कुनै व्यक्ति पार्टीमा बस्न चाहन्छ, चाहँदैन, त्यो उसको कुरा हो । तर यस्ता काम गर्न खोज्नुको परिणाम के हुन्छ भन्ने बेलैमा सोचे हुन्छ ।”
प्रेम आलेले त नेपाल वायुसेवा निगममा तपाईंले नियुक्त गरेको मान्छेलाई हटाएर विवादित पाइलटलाई नियुक्ति गर्नुभयो नि भन्ने अर्को प्रश्नमा खनालले भने, “यसमा चोरलाई चौतारी, साधुलाई शूली भन्ने उखान मजाले चरितार्थ भएको छ । म अत्यन्त दुखित पनि भएको छु । त्यसमा म प्रेम आलेलाई दोष दिन्नँ । यसको सीधा दोष क्याबिनेटलाई नै दोष जान्छ । प्रधानमन्त्री नै मुख्य जिम्मेवार हुनुपर्छ ।”

“सबै ठाउँमा उम्मेदवारी दिन्छौं”
आगामी निर्वाचनमा एकीकृत समाजवादीलाई १० सिट दिन लागेको सत्य हो भन्ने पत्रकार धमलाको प्रश्नमा खनालले भने, “यो सिट भनेको कसैले कसैलाई दान, बकस, उपहार दिने कुरा होइन । हामी आफ्नो शक्ति र जनतामाथि भरोसा गरेर लड्छौं । तर गत स्थानीय तहको निर्वाचनमा गठबन्धनमा विश्वास गरेर धोका पायौं । अब १६५ संघीय निर्वाचन क्षेत्र र ३३० प्रादेशिक क्षेत्रमा समाजवादीका उम्मेदवार खडा हुन्छन् । पहिलो प्राथमिकता आत्मनिर्भरताका साथ लड्छौं, सम्भव भएको ठाउँमा तालमेल पनि गर्छौं ।”
आगामी निर्वाचनमा एमालेसँग पनि सहकार्य हुने उनले संकेत गरे । खनालले भने, “म नेकपा एमालेसँग पानी बाराबार गर्नुपर्छ भन्ने ठान्दिनँ । हाम्रो पार्टी कार्यगत एकताका लागि खुला भएर जान सक्छ । अब उहिलेका कुरा गरेर हुँदैन । गठबन्धनमा पनि यो दिने, ऊ दिने होइन । हाम्रो पार्टीको भूमिकाको मूल्यांकन हुनुपर्छ । अब ४० सिट नभए हामी तालमेल गर्दैनौं ।”

“साम्राज्यवादी नवउपनिवेश बनाउने चलखेल”
एमसीसी, एसपीपी साम्राज्यवादको नवउपनिवेश बनाउने षडयन्त्र अन्तर्गत आएको आरोप पनि खनालले लगाए । उनले थपे, “पछिल्लो अवधिमा संविधान घोषणा भएपछि जो जो सत्तामा गए, तिनले अमेरिकीलाई स्वागत गने, एमसीसी, एसपीपी ल्याएर नेपाललाई सैनिक अखडा बनाउन लागेका छन् । अमेरिकी सेनालाई नेपालको छातीमा मार्च गराउन खोजेका छन् । त्यो आवेदन गर्ने को हो ? एमसीसीका जुन जुन सर्तमा फसाइएको छ, त्यसलाई बेलैमा रिभ्यू गर्न सकिएन भने साम्राज्यवादको नवउपनिवेश बनाउने कुरा हुन्छ ।”

“एसपीपी अस्वीकृति चीनको हितमा छ”
एसपीपी नलिने नेपाल सरकारको निर्णयमा चीनले बोल्नु आन्तरिक मामलामा हस्तक्षेप होइन भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “एसपीपी नलिनु राम्रै कुरा हो । यसमा छिमेकी देश खुसी हुनु पनि स्वाभाविकै हो । एसपीपी चीनका लागि संवेदनशील विषय हो । सैनिक साझेदारीको सम्झौता ल्याउँदैनौं भनेर गरिने निर्णयले उसलाई राहत भयो । चीनविरोधी गतिविधिमा कमी आउने भयो । एक चीन नीति हाम्रो परराष्ट्र नीतिको अंग बनिसकेको छ । हाम्रो भूमि कुनै पनि मित्रराष्ट्रविरुद्ध प्रयोग हुनुहुन्न । यो निर्णय भारत र चीन दुवैको हितमा छ । चीन मात्र होइन, भारत पनि खुसी भएको हुनुपर्छ । भारतले नबोल्नु अर्कै कुरा हो ।”

“बीआरआईबारे पश्चिमा कुप्रचार”
खनालले नेपालले बीआरआई लिनुपर्ने पनि औंल्याए । उनले भने, “बीआरआई ऋण मात्र हो, यो लिनुहुन्न भन्ने पश्चिमा कुप्रचारका आधारमा बग्छन् भने मेरो भन्नु केही छैन । तर अहिलेसम्म नेपाल सरकारले बीआरआई रद्द गरेको छैन । यो एक्काइसौं शताब्दीको सकारात्मक र प्रगतिशील प्रस्ताव हो । तर नेपालले बीआरआईको ऋण वा ग्रान्ट के लिने हो भन्ने टुंगो छैन । हामीले सुरुमा ३५ वटा प्रोजेक्ट बुझाएका थियौं । उसले वन डिजिटको प्रोजेक्ट माग्यो । हामीले नौ वटा पठायौं । अब बीआरआईले कुन कुन प्रोजेक्ट लिने हो, त्यो पनि थाहा छैन ।”



प्रतिक्रिया दिनुहोस्