Logo

नेपालको फुटबल वरीयता खस्कियो



काठमाडौं, असार १० । विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार सार्वजनिक गरेको नयाँ फिफा वरीयताक्रममा नेपालको स्थान खस्किएको छ।

फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १ सय ७६औं स्थानमा छ। जुन पछिल्लो वरीयताभन्दा आठ स्थान तल झरेको हो। नेपाल यसअघि वरीयताको १ सय ६८औं स्थानमा थियो।

पछिल्लो पटक एएफी एसियन कप २०२३ को तेस्रो चरणको छनोट खेलेको थियो। छनोटको समूह ‘ए’ मा रहेको नेपाल जोर्डनसँग २–० ले, कुवेतसँग ४–१ ले र तेस्रो खेलमा इन्डोनेसियासँग ७–० ले पराजित भएको थियो। सोही प्रदर्शनको आधारमा नेपालको नयाँ वरीयता निकै तल झरेको हो।

बिहीबार सार्वजनिक गरेको वरीयताक्रमको शीर्ष स्थानमा ब्राजिल र दोस्रो स्थानमा बेल्जियम यथावत् छन् भने तेस्रो स्थानमा अर्जेन्टिना उक्लिएको छ। अर्जेन्टिनाले विश्वविजेता फ्रान्सलाई पछि पार्दै अर्जेन्टिना उक्लिएको छ। नेसन्स कपमा भएको प्रदर्शनको आधारमा केही टोलीको प्रदर्शनमा सुध्रिएको हो भने केही टोलीको स्थान खोसिएको हो। यस्तै, चौथो स्थानमा फ्रान्स र पाँचौं स्थानमा इङ्ल्यान्ड छन्।

दक्षिण एसियाली वरीयतामा भने नेपाल तेस्रो स्थानमा छ। यस्तै, नेपाल एसियाली वरीयताको ३५औं स्थानमा छ। भारत भने दक्षिण एसियाको शीर्ष स्थानमा छ। भारत वरीयताको १ सय ४ स्थानमा छ।

यस्तै, दोस्रो स्थानमा रहेको माल्दिभ्स १ सय ५६औं स्थानमा, चौथो स्थानमा रहेको भुटान १ सय ८६औं, पाँचौं स्थानमा रहेको बंगलादेश १ सय ९२औं, छैटौं स्थानमा रहेको पाकिस्तान १ सय ९६औं स्थानमा र सातौं स्थानमा रहेको श्रीलंका २ सय सातौं स्थानमा छ।



प्रतिक्रिया दिनुहोस्