Logo

‘उत्कृष्ट शिक्षा नेपालमै’



काठमाडौँ,१० असार ।‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नारासहित उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल र कान्तिपुर पब्लिकेसन्सको आयोजनामा आजदेखि चारदिने ‘सातौँ कान्तिपुर हिसान एडुफेयर–२०२२’ भृकुटीमण्डपमा सुरु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले मेलाको शुभारम्भ गर्दै उच्च शिक्षामा नाममा विदेशमा गएर पढ्ने प्रवृत्ति कम गराएर पुँजी पलायन रोक्नुपर्छ भने ।

उनले विदेशमा अध्ययनका लागि अनुमतिपत्र (एनओसी) लिने वार्षिक एक लाख ११ हजार विद्यार्थी रहेकामा त्योक्रम रोक्न ‘प्लस टु’ शिक्षाले योगदान दिनसक्ने बताए ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले शिक्षामा सार्वजनिक–निजी साझेदारीको अवधारणाबाट काम गर्न सकिएमा गुणस्तरीय शिक्षा स्वदेशमै सम्भव हुन्छ भने ।
हिसानका अध्यक्ष रमेशकुमार सिलवालले उच्च शिक्षाका नाममा ठूलो धनराशि विदेश जानबाट जोगाउन तथा विद्यार्थी, अभिभावक र शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिलाई एकै छानामुनि गुणस्तरीय शिक्षाका बारेमा विस्तृत परामर्श दिन मेलाले सघाउने जानकारी दिए ।

मेलाका संयोजक युवराज शर्माले मेलामा विभिन्न ७४ शैक्षिक संस्थाका प्रदर्शनी कक्ष रहनेछन् । मेलामा करिब दुई लाखले भ्रमण गर्ने अनुमान गरिएको छ ।रासस



प्रतिक्रिया दिनुहोस्