Logo

स्वास्थ्यमन्त्री विरोध खतिवडाको प्रतिक्रिया-राष्ट्रियसभाबाट बजेट पारित भएपछिमात्रै राजीनामा दिन्छु



काठमाडौं, १० असार । नेकपा (एकीकृत समाजवादी) भित्र मन्त्रीहरु हेरफेर गर्ने विषयले विवाद चर्किएको छ । फिर्ता बोलाईएका मन्त्रीहरुले नै १० जनाको सांसदहरुको मोर्चाबन्दी कसेर अध्यक्ष माधव नेपालमाथि तत्काल मन्त्रीहरु नहटाउन दबाब सिर्जना गरेका छन् । आजमात्रै स्वास्थ्यमन्त्री विरोध खतिवडाको नेतृत्वमा १० सांसदले नेतृत्वमाथि दबाब सिर्जना गरेका थिए । पार्टीको पोलिटब्युरो बैठकमा समेत मन्त्रीहरु र नेतृत्वबीच नोकझोक चलेको थियो ।

स्वास्थ्यमन्त्री विरोध खतिवडाले राष्ट्रियसभाबाट बजेट पारित भएपछिमात्रै मन्त्रीबाट राजीनामा दिने सुनाए । पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने,‘हामी राजीनामा दिन तयार छौं । पार्टीको निर्णयपनि कार्यान्वयन हुन्छ । तर, अहिले राजीनामा दिने बेला होईन । बजेट पारित हुनुपर्यो नि, राष्ट्रियसभाबाट बजेट पारित भएपछि हामी राजीनामा दिन्छौं ।’ अहिले मन्त्रीहरु हेरफेरको विषय समाजवादीभित्र पेचिलो बनेको छ ।

उता, पार्टीका उपमहासचिव डा. गंगालाल तुलाधरले भने तत्काल पार्टीको निर्णय कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । उनले फिर्ता बोलाईएका मन्त्रीहरुले २४ घण्टाभित्र राजीनामा दिनुपर्ने चेतावनी दिएका छन् । उनले राजीनामा नदिने मन्त्रीहरुलाई कारबाही गरिने पनि बताए । र, पार्टीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने उनको भनाई छ । file photo



प्रतिक्रिया दिनुहोस्