Logo

प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल पार्टीको निर्णय कार्यान्वयन नगरे गठबन्धनमा बस्दैनौंः मेटमणि चौधरी



काठमाडौं, ११ असार । नेकपा (एकीकृत समाजवादी) का नेता एवं सांसद मेटमणि चौधरीले प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको निर्णय कार्यान्वयन नगरे गठबन्धनमा नबस्ने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता चौधरीले भने, “नेकपा (एकीकृत समाजवादी) सहितका गठबन्धन दलहरुले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएका हुन् । प्रधानमन्त्रीले नै यो तथ्य भुल्नुहुन्छ भने हामीले के गर्न सक्छौं ? नेकपा (एकीकृत समाजवादी) को कुरा नै प्रधानमन्त्रीले नमान्ने हो भने हामी गठबन्धनमा किन बस्ने ? प्रधानमन्त्री पाँचदलीय गठबन्धनप्रति इमानदार हुनुपर्छ, हुनुहुन्न भने परिणाम गम्भीर हुन्छ ।”
एकीकृत समाजवादीको मन्त्री हेरफेरको निर्णय २२ दिनसम्म कुराउनु स्वस्थकर नहुने पनि उनले बताए । चौधरीले भने, “पार्टीले नयाँ मन्त्रीको नाम सिफारिस गरेको छ । तर बालुवाटारले सपथग्रहण गराएको छैन । मन्त्री हेरफेरको निर्णय २२ दिनसम्म पेन्डिङमा राख्नु त्यति राम्रो होइन । कार्यान्वयन भएन भने के हुन्छ भन्ने मैले कसरी भन्न सक्छु र ? अब जे गर्नुपर्ने हो, पार्टीले नै निर्णय गर्छ ।”

मन्त्रीहरुले तत्काल सरकारबाट नहट्ने अडान लिइरहेका छन् नि भन्ने पत्रकार धमलाको प्रश्नमा नेता चौधरीले भने, “उहाँहरुलाई मन्त्री बनाउँदा सचिवालयले निर्णय गरेको थिएन । हाम्रो अध्यक्ष माधव नेपालले जिम्मेवारी लिएर सरकारमा पठाउनुभएको हो । अहिले सचिवालयले निर्णय गरेको छ, स्थायी कमिटीले अनुमोदन गरेको छ । प्रधानमन्त्रीलाई ताकेता गरिरहेको छ । यसलाई कसरी बेठीक भन्न सकिन्छ ? बरु पहिला मन्त्री बनाउँदा बेठीक भएको थियो । अहिले हिजो आफूहरु मन्त्री बन्दा सबै ठीक हुने, माधव नेपाल हाई हाई हुने, आज फिर्ता बोलाउदा बेठीक हुने, अटेर गर्ने प्रवृत्ति गलत हो ।”
पार्टीका मन्त्रीहरुले नैतिकता देखाउन नसकेको आरोप पनि उनले लगाए । चौधरीले भने, “अहिलेसम्म हजारौं मन्त्री बनिसके । आज उनीहरु कहाँ छन् ? कोही व्यक्ति जिन्दगीभरि मन्त्री बन्न जन्मेको हो र ? उहाँहरुले ६ महिनाभित्र राजीनामा गर्नका लागि सहीछाप गर्नुभएको छ । पार्टीले बनाएर मन्त्री हुने अनि आज धम्काउँदै हिँड्ने ? यो अनुशासनहीनताको पराकाष्ठा हो । कसैलाई महिलाको सहभागिताका लागि भनेर हस्ताक्षर गराउने, कसैलाई तिमी नै मन्त्रीमा दोहोरिन्छौं भनेर हस्ताक्षर गराएको सुनिएको छ । आफ्नो स्वार्थका लागि जे पनि गर्ने कुरा अनैतिक हो ।”
माधव नेपाललाई संसदीय दलको नेताबाट हटाउने चेतावनी पनि आइरहेको छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा चौधरीले भने, “मन्त्रीका लागि बार्गेनिङ गरेर पार्टी फेर्ने व्यक्ति कसरी संसदीय दलको नेता बन्न सक्छन् ? मन्त्रीको कुर्सी छाड्न नसक्ने कसरी नेता हुन सक्छ ? उहाँहरुसँग को जान्छ ? यसमा पार्टीले निर्मम निर्णय लिन्छ । पार्टीमा रहने वा नरहने उहाँहरुको कुुरा हो ।”



प्रतिक्रिया दिनुहोस्