Logo

वीरगन्जलाई केन्द्रले सौतेला व्यवहार गरेको छः मेयर राजेशमान सिंह



काठमाडौं, ११ असार । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगन्जलाई केन्द्रले सौतेला व्यवहार गरेको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मेयर सिंहले भने, “मैले बजेटमा बसेर काम गर्ने हो । बजेट प्रदेश र संघले दिन्छन् । वीरगन्जलाई आर्थिक राजधानी भनिन्छ तर यहाँ उठेको करजति केन्द्रले लान्छ । यहाँका जनताले आर्थिक राजधानीको अनुभूति गर्नै पाएका छैनन् । १०५ करोडले के हुन्छ वीरगन्जलाई ? वीरगन्जलाई सरकारले सौतेला व्यवहार गरेको छ ।”
हिजो प्रस्तुत भएको नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयन गरेर छाड्ने दृढता पनि उनले व्यक्त गरे । उनले भने, “म भन्नुभन्दा गर्नुमा विश्वास राख्छु । बजेट हाम्रो वीरगन्जलाई राम्रो वीरगन्ज बनाउनेमा केन्द्रित छ । मसँग जादुको छडी छैन । मैले जनतालाई आकाशको तारा टिपेर दिने होइन, तर बजेट कार्यान्वयन हुन्छ, हुन्छ । कम्तीमा मलाई सय दिन दिनोस् ।”
साथै उनले वीरगन्ज महानगरको सम्पत्ति कब्जा गरेर बस्नेलाई नछाड्ने चेतावनी पनि दिए । उनले भने,” मैले सपथ खाएको ३० दिन भयो । मैले एक प्रतिशत काम पनि गरेको छैन । सरसफाईको सुरुआत भएको छ । १६ देखि ३२ वडालाई सडक सञ्जालमा जोड्नु चुनौतीपूर्ण छ । बजेटमा जनताको दैनिकीमा सुधार, बेथितिमा सुधार, फोहारमैला व्यवस्थापन, शिक्षा र स्वास्थ्यलाई सर्वसुलभ बनाउन जोड दिइएको छ । मलाई सबैको साथ चाहिन्छ ।”



प्रतिक्रिया दिनुहोस्