Logo

विदेशीलाई सजिलै नागरिकता दिएर फिजी बनाउन पाइँदैनः चित्रबहादुर केसी



काठमाडौं, ११ असार । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विदेशीलाई नागरिकता दिएर फिजी बनाउन लागिएको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता केसीले भने, “नेपालीलाई नागरिकता दिनुपर्छ भन्ने कुरामा विवाद भएन, विदेशीलाई जबर्जस्ती नागरिक बनाउने कुरा पनि उचित होइन । मैले नागरिकता पाउनुपर्नेले पाउनुपर्नेमा विरोध होइन । तर नेपालीजति विदेशतिर जाने, अनि विदेशीलाई सजिलै नागरिकता दिएर फिजी बनाउन पाइँदैन ।”
गठबन्धनको औचित्य अझै रहेको पनि केसीले बताए । उनले भने, “प्रतिगमनको खतरा अझै टरिसकेको छैन । अनेक षडयन्त्र कायमै छन् । कांग्रेसलाई सत्ता चाहियो भनेर हामी सती गएको होइन । २०७४ मा पनि हामी वामपन्थी क्याम्पमा गएकै हो । कसरी ध्वस्त पारियो ? हामी केही नजानेर नबुझेर कांग्रेससँग गएको होइन । प्रजातान्त्रिक आन्दोलनमा कांग्रेसलाई नसमेटीकन नहुने भएर हो । कांग्रेससँग सहकार्य पनि गर्नुपर्छ, विरोध पनि गर्नुपर्छ ।”
एमसीसी सँगसँगै एसपीपी आएको आरोप पनि उनले लगाए । केसीले थपे, “एमसीसी आत्माघाती हो, हामीले भनेकै हो । एमसीसी सँगसँगै एसपीपी आयो । नेपाललाई साम्राज्यवादीको अखडा बनाउने षडयन्त्र चिर्न नसक्नुको परिणाम अहिले देखिएको हो ।”



प्रतिक्रिया दिनुहोस्