Logo

मन्त्री हेरफेरमा प्रधानमन्त्री र प्रचण्ड बाधक बन्नुभयोः जगन्नाथ खतिवडा



काठमाडौं, १२ असार । नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता जगन्नाथ खतिवडाले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी निर्णयको बाधक भएको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खतिवडाले भने, “मन्त्री हेरफेरमा हाम्रातर्फबाट कुनै समस्या छैन । सचिवालयको निर्णय स्थायी समिति र केन्द्रीय कमिटीले अनुमोदन गरेका छन् । यसमा प्रधानमन्त्री र प्रचण्ड नै बाधक हुनुहुन्छ । अब कांग्रेस सभापति र माओवादी अध्यक्षले अलमल्याउनु हुँदैन । आजै सपथग्रहण गराउनुपर्छ ।”
प्रधानमन्त्री र प्रचण्डले पार्टीभित्र खेल्न खोजको आरोप पनि उनले लगाए । खतिवडाले थपे, “प्रधानमन्त्री र प्रचण्डले गर्नै नहुने काम गर्नभएको छ । हाम्रो पार्टीलाई अपमान, अवमूल्यन र कुठाराघात गर्नुभएको छ । पार्टीभित्रको कुरा गिजोल्न खोज्नुभएको छ । हाम्रो पार्टीका मन्त्री उहाँहरुले बनाएको होइन । उहाँहरु हाम्रो पार्टी फुटाउन र कमजोर बनाउन लाग्ने हो भने हामी पनि उहाँहरुको पार्टीभित्र खेलौं त ? अब कांग्रेस र माओवादीको समस्या समाधान हामीले गर्ने ?”
सरकार ढले पनि पार्टी आफ्नो निर्णयबाट ब्याक नहुने उनले दाबी गरे । खतिवडाले भने, “सरकार ढले ढलोस् । कसैले हाम्रो पार्टीको निर्णयलाई चुनौती दिन्छ, भोलि भोलि भन्छ भने हामीले किन सहने ? पार्टी आफ्नो निर्णयबाट ब्याक हुँदैन अहिले जे नाम पठाएको छ, त्यही गर्नुपर्छ । यसमा तलमाथि हुँदैन ।”

बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तन हुन लागेको हो भन्ने पत्रकार धमलाको प्रश्नमा प्रवक्ता खतिवडाले भने, “शेरबहादुर देउवा र माधव नेपालबीचको लिखित वा जेन्टलम्यान एग्रिमेन्ट के छ, त्यसमा छलफल चल्दै जान्छ । सहमति छ भने कार्यान्वयन गर्नुपर्छ । तर अहिले यो प्रकारको दबाब र तनावले देशको राजनीति कुन ठाउँमा जान्छ ? देउवाजीले खेल्ने हो भने हामीले पनि खेल्नुपर्यो । तर त्यस अवस्थामा मुलुक झमेलामा जान्छ ।”



प्रतिक्रिया दिनुहोस्