Logo

अदालत नै ‘बायस’ छ, आजसम्म कुनै पनि कम्युनिस्ट प्रधानमन्त्रीले गरेको संसद् विघटन सदर भएनः खगराज अधिकारी



काठमाडौं, १२ असार । नेकपा एमालेका नेता खगराज अधिकारीले वामदेव गौतमको बोलीको कुनै ठेगान नभएको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता अधिकारीले भने, “वामदेवको प्रस्ताव आउँछ, जान्छ । हिजो भएको पार्टी त टुटाउनु भयो, आज उहाँले कसरी मिलाउन सक्नुहुन्छ ? नेकपा बनाउने मीठो सपना कसैले देख्न पाउँछ । तर उहाँको बोलीको ठेगानै छैन ।”
प्रचण्ड, माधव नेपालहरुका कारण संसद् विघटन गर्नुपरेकाले त्यसमा केपी शर्मा ओलीले कुनै पश्चात्ताप गर्नुनपर्ने अधिकारीले बताए । उनले भने, “हाम्रो पार्टीमा वामदेवको प्रस्ताव आएको छैन । केपी ओलीले के गल्ती गर्नुभयो ? संसद विघटन उहाँहरुकै कारण गर्नुपरेको त हो नि । सय भारी खर डढाउने र सय भारी खर काट्नेलाई उही कुरा लागू हुन्छ र ? उहाँले त्यसो भन्ने आधार गुमाइसक्नुभएको छ ।”
अदालतले आजसम्म कुनै पनि कम्युनिस्ट प्रधानमन्त्रीले गरेको संसद् विघटन सदर नगरेको आरोप पनि उनले लगाए । अधिकारीले भने, “विश्वनाथ उपाध्यायदेखि चोलेन्द्रशमशेर राणासम्मले त्यही गरे । अदालत नै बायस छ । उहाँहरुले देशीविदेशीलाई कम्फरटेबल हुने गरी विभाजन गर्नुभएको हो ।”
झलनाथ खनालले पार्टी एकता गर्ने हो भने सबभन्दा पहिले पार्टी विभाजन गरेकामा अपराधबोध गर्नुपर्ने पनि अधिकारीले औंल्याए । उनले भने, “झलनाथ खनालले इमानदारी प्रयत्न गर्नुभयो र औपचारिक रुपमा प्रस्ताव आयो भने सोच्न सकिन्छ । तर उहाँहरुले धेरै ठूलो गल्ती गर्नुभएको छ । प्रतिक्रियावादीसँग अपवित्र गठबन्धन गरेर शेरबहादुर देउवालाई किस्तीमा हालेर प्रधानमन्त्री पद दिएको होइन ? पहिले त अपराध गरेकोमा पश्चात्ताप गर्नुपर्यो नि ।”
सरकारले इन्धनको मूल्य घटाउँदैमा एमालेको सडक आन्दोलन नरोकिने दृढता पनि एमाले नेता अधिकारीले व्यक्त गरे । उनले थपे, “सरकारले इन्धनको मूल्य घटाएको नाटक गरेको छ । साबिक मूल्यमा लानुपर्यो नि । अझै पनि भारत, पाकिस्तान, भुटानभन्दा महँगो छ । एमालेले संसदमा मूल्य घटाउने प्रस्ताव राखेको छ । त्यसको सम्बोधन भएको छैन । हामी खुरुक्क लुरुक्क परेर फर्कन्छौ त ?”



प्रतिक्रिया दिनुहोस्