Logo

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रश्नः “सबै सिट गठबन्धन दलहरूलाई सुम्पेर कांग्रेस चैं बनवास जाने ?”



काठमाडौं, १२ असार । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी संघ र प्रदेशको निर्वाचनमा दुई तिहाइ बहुमत सुनिश्चित हुने गरी गठबन्धन हुने दाबी गरेका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलेले भने, “स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई व्यवस्थित ढंगले अघि बढाउन सकेको भए हाम्रो एक डेढ सय सिट बढ्थ्यो । अब संघ र प्रदेशको निर्वाचनमा दुई तिहाइ बहुमत सजिलै ल्याउने गरी गठबन्धन हुन्छ । तर त्यसका लागि के गर्ने, कसो गर्ने, कति गर्ने भन्ने मोडालिटी तयार भइसकेको छैन ।”
माओवादी केन्द्रले ६० र एकीकृत समाजवादीले ४० सिट दाबी गरिरहेका छन् नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “मेरो कुरा सफासाफी छ- पार्टीको क्षमता र हैसियत अनुसार सिट बाँडफाँड गर्नुपर्छ । सिट मात्र दिएर हुन्छ ? चुनाव जित्नुपर्‍यो नि ? टिकट लिने सिट ओलीलाई बुझाइदिने गर्न कसरी मिल्छ ? आफ्नो हैसियत हेर्नु परेन ? चुनाव हार्ने गरी सबै सिट अरुलाई सुम्पेर कांग्रेस चैं बनवास जाने ?”
प्रचण्ड र वर्षमान पुनले पनि कांग्रेसलाई साइजमा राख्नुपर्ने बताइरहनुभएको छ नि भन्ने पत्रकार धमलाको अर्को प्रश्नमा वरिष्ठ नेता पौडेलले भने, मैले भनिसकें, “कहाँ कसले जित्ने सम्भावना छ, त्यस अनुसार टिकट बाँड्नुपर्छ । अब वर्षमान पुनले भनेर के हुन्छ ? स्थानीय तह निर्वाचनमा रोल्पा, रुकुममा कांग्रेसलाई एउटा पनि दिनुभएन । वर्षमानले मिलाउने, मिलाउने भनेर धोका दिनुभयो । कसैले पनि तीनचारतिर खुट्टा राखेर डुंगा चलाउनु हुँदैन ।”
५ दलीय गठबन्धनमा दरार आयो नि भन्ने अर्को प्रश्नमा कांग्रेस नेता पौडेलले भने, “दरार आउनु नेपाली राजनीतिको चरित्र नै हो । विभिन्न पार्टीका आआफ्ना दाबी र गुनासा नभएका होइनन् । तर स्थानीय तहमा जसको जे हैसियत हो, त्यस अनुसार नतिजा आएको छ । अब आआफ्नो संगठन बलियो बनाउन लाग्नुपर्छ । मुलुकको स्थायित्व, विकास र परिवर्तनका उपलब्धि रक्षाका लागि गठबन्धन बचाउनुपर्छ ।”
बजेटको छलफल चलिरहेका बेला अपर्झट मन्त्री फेरबदलको कुरा आएकाले केही समस्या आएको पनि पौडेलले बताए । उनले भने, “नेकपा (एकीकृत समाजवादी) को निर्णय अनुसार मन्त्री नबदल्ने कुरै होइन । बजेटको छलफल चलिरहेका बेला अपर्झट आयो । त्यसमा प्रधानमन्त्रीका केही बाध्यता होलान् । एकीकृत समाजवादीभित्रै कचमच छ । घरी हस्ताक्षर गर्छन् । घरी फिर्ता गर्छन् । प्रधानमन्त्रीले गराउँदिनँ भन्नुभएको छैन । सुरक्षित अवतरण गराउनु उहाँको दायित्व हो ।”
तपाईं त शेरबहादुर देउवाको ‘रबर स्ट्याम्प’ हुनुभयो नि भन्ने पत्रकार धमलाको प्रश्नमा पौडेलले भने, “मैले पार्टीभित्र आलोचना, गुनासो र असहमति राख्दै आइरहेको हुँ । तर सबैले उहाँलाई सभापति बनाएपछि मैले के गर्ने ? बाटोमा गाली गर्दै हिँड्ने कुरा त हुँदैन मबाट । परेका बेला बोलिरहेकै छु ।”
अर्को प्रसंगमा उनले बजारमा सरकारको हस्तक्षेप चाहिएको बताए । पौडेलले भने, “सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएर मात्र पुग्दैन । खुला व्यापारका नाममा खुलेआम कालोबजारी भइरहेको छ । सरकार जवाफदेहिताबाट उम्किन मिल्दैन । कृत्रिम महँगी र कालाबजारीमा हस्तक्षेप गर्न हिचकिचाउनु हुँदैन ।”
कांग्रेस वरिष्ठ नेता पौडेलले मल ल्याउने जिम्मा व्यापारीलाई सुम्पनु नहुने पनि औंल्याए । पौडेलले थपे, “कृषि सामग्री संस्थानको दशा दोहोर्याउने भूल गर्नुहुँदैन । राज्यले आफ्नो दायित्व व्यापारीलाई सुम्पँदा मलको हाहाकार हुन्छ । व्यापारीले त नाफा भए ल्याउँछ, नभए ल्याउँदैन ।”



प्रतिक्रिया दिनुहोस्