Logo

प्रदेश १ को नाम किरात–सगरमाथा वा किरात–कोसी हुन सक्छः मुख्यमन्त्री राजेन्द्र राई



काठमाडौं, १३ असार । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण १० साउनभित्रै टुंग्याउने बताएका छन् ।
प्राइम एचडी टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग हिजो राति कुरा गर्दै मुख्यमन्त्री राईले भने, “प्रदेशको नाम यही बजेट अधिवेशनमा राखिसक्ने अधिकतम पहल गरेका छौं । हामी करिब करिब सहमतिको नजिक छौं । सम्भवतः साउन १० भित्र टुंग्याउँछौं ।”
प्रदेश १ मा बहुपहिचान जोडिएको नाम राखिने सम्भावना रहेको पनि उनले औंल्याए । राईले थपे, “सभ्यता, जातीय पहिचान वा भूगोलका आधारमा नाम राख्ने पहल हुँदै आएको छ । किरात प्रदेशको माग दाबी र हक दाबी भए पनि त्यो सम्भावना कम छ । किनभने अहिलेको प्रदेश सभामा एकल जातीय पहिचान किरातको पक्षमा दुई तिहाइ पुग्ने देखिँदैन । हामी सकेसम्म सर्वसम्मतिको पक्षमा छौं । तसर्थ बहुपहिचान जोडिएका किरातसँग सगरमाथा वा कोसी जोडिने सम्भावना प्रबल छ ।”
नेकपा (एकीकृत समाजवादी) का सचिव समेत रहेका राईले पार्टी फुटको दिशामा नजाने जिकिर पनि गरे । उनले भने, “मन्त्री फेरबदललाई झगडा भन्न मिल्दैन । सामान्य छलफल भयो । लोकतान्त्रिक पार्टीमा आफ्नो धारणा राख्ने सुविधा सबैलाई छ । तर तत्काल विद्रोह, फुट वा पहिरो जाने सम्भावना छैन ।”
उनले आगामी संघ र प्रदेश निर्वाचनमा पनि गठबन्धन नटुट्ने दाबी गरे । राईले थपे, “गठबन्धन टुटाउने केपी ओलीका धेरै प्रयत्न असफल भइसकेका छन् । अब त गठबन्धनमा अन्य दल पनि थपिन सक्छन् । गठबन्धन जारी रहन्छ । स्थानीय तहमा त मिल्यो भने संघ र प्रदेशमा किन नमिल्ने ? स्थानीय तहमा धेरै आकांक्षी भएकाले गाह्रो हुन्थ्यो । संघ र प्रदेशमा बुझेका मानिस आकांक्षी हुन्छन् ।”



प्रतिक्रिया दिनुहोस्