Logo

लौ न हाजिर गरेर हिँड्ने सांसदका बारेमा खोजेर समाचार लेखिदिनोस्ः विशाल भट्टराई



काठमाडौं, १३ असार । नेकपा एमालेका नेता विशाल भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा संसदमा एक दिन पनि प्रश्नोत्तर कार्यक्रममा सहभागी नभएको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै एमाले संसदीय दलका प्रमुख सचेतक समेत रहेका भट्टराईले भने, “संसद व्यापक रुपमा बहस गर्ने थलो हो । नागरिकता, संघीय निजामती लगायत ५१ वटा भन्दा बढी विधेयक त्यसै थन्किएका छन् । प्रधानमन्त्री एक पटक पनि प्रश्नोत्तरमा सामेल हुनुभएको छैन । संसद् बन्द गरेर अध्यादेश ल्याउने कुराले कसरी आकर्षण हुन्छ ? सभामुखले एजेन्डा ल्याउनुपर्‍यो । सबैसँग संवाद गर्नुपर्‍यो । अनि न सांसदको उपस्थिति बढ्छ ।”
संसदमा नआउने भन्दा पनि हाजिर गरेर टाप ठोक्ने सांसदबारे गम्भीर हुनुपर्ने उनले औंल्याए । भट्टराईले थपे, “प्रतिनिधिसभा र राष्ट्रिय सभाको तस्बिर हेर्दा सांसदको उपस्थिति पातलो छ । प्रमुख कारण त जनताको समस्या मुखरित हुने एजेन्डाले संसदमा प्रवेश पाएको छैन । कतिपय साथीहरु पार्टीको जिम्मेवारीका कारण पनि कम उपस्थित हुनुभएको छ । बर्खा लागेकाले कतिपय सांसद आफ्नो गाउँठाउँमा खेतीपातीमा संलग्न हुनुपर्ने अवस्था पनि छ । संसदमा नआउनेलाई गुनासो गर्न मिल्दैन । तर हाजिर गरेर नबस्ने चाहिं गम्भीर हो । यसबारे खोजेर समाचार लेख्न म आग्रह गर्छु ।”
सांसदहरुलाई संसदमै काम गर्न उत्प्रेरित गर्नुपर्ने पनि उनले बताए । भट्टराईले भने, “हिजोको कुरा गर्ने हो भने एमालेका तर्फबाट ठूलो संख्यामा उपस्थिति थियो । सत्तापक्षको उपस्थिति नै रहेन । गणपूरक संख्या नपुग्ने स्थिति आयो । यसबारे मैले कानुन मन्त्री, कार्यव्यवस्था समितिलाई भनेको छु । हाम्रातर्फबाट पनि कमकमजोरी भएका छन् भने सच्चाउनुपर्छ ।”
मन्त्री छाड्नुपर्दा धुरुधुरु रुने स्थिति आउन नहुने पनि भट्टराईले औंल्याए । उनले थपे, “मन्त्री पद म्यूजिकल चेयर होइन, काम गर्न र परिणाम दिनका लागि हो । पालो गर्ने, भागबन्डा गर्ने होइन । मन्त्री बनाउँछु भनेर पार्टी फुटाएको, पैसा खाएको सुनिएको छ । एउटा राजनीतिक दलको नेताजस्तो मन्त्री छाड्दा धुरुधुरु रोएको देखिरहेका छौं । मन्त्री फेर्दा पार्टी छाड्छौं भनेर विज्ञप्ति निकालेको पनि देखियो । त्यो एकछिन ओत लाग्ने पाटी हो कि राजनीतिक पार्टी हो ?”



प्रतिक्रिया दिनुहोस्