Logo

“गठबन्धन नगरे पनि कांग्रेसलाई फरक पर्दैन”



काठमाडौं, १३ असार । नेपाली कांग्रेसका डा. गोविन्दराज पोखरेलले पार्टी सभापति शेरबहादुर देउवाको ६ महिने कार्यकाल सफल भन्न नमिल्ने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. पोखरेलले भने, “सभापतिज्यूको ध्यान सरकार र स्थानीय तहको चुनावमा गयो । स्थानीय तहको निर्वाचन सफल भएको छ । गठबन्धनबाट पार्टीले आंशिक लाभ लिएको छ । तर पार्टी विधान अनुसार विभिन्न विभाग गठन भएका छैनन् । त्यो हुन सकेको भए केन्द्रीय समिति, महाधिवेशन प्रतिनिधि, महासमितिका १५ सय साथीहरुलाई जिम्मेवारी दिन सकिने स्थिति छ । त्यसले संगठन बलियो हुन्थ्यो, पार्टी संघ र प्रदेशको आगामी निर्वाचनमा बलियो रुपमा प्रस्तुत हुन सक्थ्यो । दुर्भाग्यवश पार्टी विधानअनुसार हामी अघि बढ्न सकेका छैनौं ।”
पार्टीलाई चलायमान बनाउन विधान अनुसारका काम तत्काल गर्नुपर्ने डा. पोखरेलले औंल्याए । उनले भने, “लोकतान्त्रिक प्रक्रियाअनुसार आदरणीय शेरबहादुर देउवा सभापति हुनुभयो । उहाँको पक्षमा अत्यधिक बहुमत छ । पार्टीभित्र कसले जित्ने, कसले हार्ने वा आत्मसमर्पण गर्ने भन्ने कुरा हुँदैन । हाम्रो पार्टी एउटै हो । वडादेखि केन्द्रसम्म लोकतान्त्रिक प्रक्रियाबाट जित्नेले नेतृत्व लियो । हार्नेले सहकार्य गर्ने हो । सक्षम, योग्य र उपयुक्त पात्रको खोजी गरेर पद परिपूर्ति गर्दै गयो भने पार्टी चलायमान हुन्छ ।”
स्थानीय तह निर्वाचनले गठबन्धनको अपरिहार्यता नदेखाएको पनि डा. पोखरेलले बताए । उनले भने, “गठबन्धन नगरेको भए पनि कांग्रेसको स्थिति मजबुत नै देखिने रहेछ भन्ने स्थानीय तह निर्वाचनले देखाएको छ । पार्टीभित्र एकताबद्ध भएर, भातृ र शुभेच्छुक संस्थालाई समन्वय गरेर अघि बढ्ने र उचित जिम्मेवारी बाँडफाँड गर्ने हो भने गठबन्धन नगरे पनि केही फरक पर्दैन ।”



प्रतिक्रिया दिनुहोस्