Logo

सिंहको आइजीपी नियुक्तिविरुद्धको रिटको फैसला नआउँदै एआइजी पोखरेल घर जानसक्ने



काठमाडौं, १३ असार । महान्यायाधिवक्ता खम्बबहादुर खातीले आइजीपी बढुवामा जेष्ठता नै नियुक्तिको उपयुक्त आधार नठरिनसक्ने जिकिर गरेका छन् । धीरजप्रताप सिंहलाई आइजीपी नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध एआइजी विश्वराज पोखरेलले दायर गरेको रिटमाथि सुनुवाई गर्दै खातीले आइजीपी नियुक्तिको आधारहरु कार्यक्षमता, कार्यकुशलता पनि रहेको भन्दै जेष्ठता नै मुख्य आधार नठहनिनसक्ने जिकिर गरेका हुन् ।

आइजीपीमा सिंहलाई नियमसंगत नै बढुवा गरिएको उनको जिकिर थियो । प्रहरी नियमावली अनुसार सबै एआइजीहरु आइजीपी बन्न योग्य भएपनि प्रहरी नियमावलीलाई टेकेर सिंहलाई नियुक्त गरिएको उनको तर्क थियो । सरकारले नियमावली अनुसार नै आइजीपी नियुक्त गरेकोले रिट बदर गर्न माग गरे ।

सरकारले नेपाल प्रहरीको आइजीपीमा धीरजप्रताप सिंहलाई बढुवा गरेपनि एआइजी विश्वराज पोखरेलले त्यसविरुद्ध रिट दायर गरेका थिए । त्यसमाथि सुनुवाई भएपनि फैसला हुन सकेको छैन । साउनमा पनि फैसला हुन नसके पोखरेलले एआइजीबाटै अवकाश पाउनेछन् ।

प्रहरी सेवामा एकसाथ प्रवेश गरेका धीरजप्रताप सिंह र विश्वराज पोखरेलमध्ये सिंह इन्स्पेक्टर हुँदा आफ्नो ब्याचीमा वरियतामा पहिलो थिए । डिएसपीमा पनि पहिलो नै थिए । एसपी हुँदा पनि उनी पोखरेलभन्दा वरियतामा माथि थिए । एसएसपी हुँदा देखि पोखरेलले वरियतामा उछिनेका थिए ।

डिआइजी बढुवामा पोखरेलले आफूभन्दा अघिल्लो ब्याचीलाई समेत उछिनेर एक्लै बढुवा पाउन सके । एआइजी हुँदा पनि दरबन्दी थपेरै बढुवा पाएर आइजीपी बन्ने मार्ग प्रशस्त गरेका थिए । तर, सरकारले धीरजप्रताप सिंहलाई बढुवा गरेर पोखरेलको छलाङलाई रोकिदियो ।



प्रतिक्रिया दिनुहोस्