Logo

गठबन्धनका जिम्मेवार नेता र मन्त्री नै निर्वाचनबाट भाग्ने बहाना खोजिरहेका छन्ः रमेश लेखक



काठमाडौं, १४ असार । नेपाली कांग्रेसका नेता रमेश लेखकले कुनै पनि हालतमा संघ र प्रदेशको निर्वाचन टार्न नमिल्ने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता लेखकले भने, “मंसिरमा निर्वाचन गर्न केले रोेकेको छ ? केका लागि संकटकाल लगाउने ? ६ महिना किन सार्ने ? सरकारमा बस्ने मानिस र जिम्मेवार नेताहरुले नै आवधिक निर्वाचन टार्ने बहानाबाजी खोजिरहेका छन् । यो त संविधानलाई संकटमा पार्ने बेठीक कुरा हो । आफ्नो हारजितका निम्ति देशलाई भड्खालोमा हाल्न मिल्दैन । संविधानका सेफ्टी भल्भ र अपवाद समातेर हल्का ढंगले बोलेको देख्दा उदेक लाग्छ ।”
महाधिवेशन भएको ६ महिनासम्म पनि कांग्रेसले पदाधिकारी चयन र विभाग गठन गर्न सकेन नि भन्ने पत्रकार धमलाको प्रश्नमा नेता लेखकले भने, “हो, पार्टी सभापतिले गठबन्धन सरकारको नेतृत्व गर्नुपरेको छ । संविधानलाई ट्रयाकमा लैजान स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । कोभिडको खोप लगाइएको छ । सरकारको कामले गर्दा पार्टीमा अलि ध्यान नपुगेकै हो । केही कमीकमजोरी वा ढिलाइ भएको हो, लथालिंग, भताभुंग भएको चाहिँ होइन । अब चाँडै केन्द्रीय समिति बसेर बाँकी काम हुन्छ ।”
गठबन्धन सरकार चलाउनु सबभन्दा कठिन भएको पनि उनले बताए । लेखकले थपे, “यो विभिन्न राजनीतिक दलहरु मिलेर बनाएको सरकार हो । विभिन्न राजनीतिक दलहरुबीच सहमति गरेर सरकार चलाउनु सकसपूर्ण हो । त्यसैले आगामी मंसिरमा हुने चुनावमा नेपाली कांग्रेसले बहुमत ल्याउनु आवश्यक छ । मुलुकलाई स्थिरता र दिगो शान्ति, विकास र समृद्धिलाई प्राथमिकता दिनुपर्छ ।”
संघ र प्रदेश निर्वाचनमा गठबन्धन हुने नहुने यकिन नभएको पनि कांग्रेस नेता लेखकले बताए । उनले भने, “गठबन्धनको मोडालिटीबारे छलफल भएको छैन । गठबन्धन हुने वा नहुने भन्ने परिस्थिति हेरेर हुन्छ । व्यक्तिगत विचार आआफ्ना हुन्छन् । पार्टीको आधिकारिक निर्णय केन्द्रीय समितिले गर्छ । त्यसैले म यसै भन्न सक्दिनँ ।”



प्रतिक्रिया दिनुहोस्