Logo

केपी ओलीले आफ्नो सम्पत्ति नेपाल सरकारको नाममा लालपूर्जा दिनेगरि दिए भने म पनि सरकारलाई सबै सम्पत्ति दिन्छु : विरोध खतिवडा



काठमाडौं, १४ असार । निवर्तमान स्वास्थ्यमन्त्री विरोध खतिवडाले आफूले मन्त्री पद छोड्न नमानेको भन्नेहरुलाई फटाहाको संज्ञा दिएका छन् । उनले आफ्नो पार्टीका जिम्मेवार नेताहरुले यस्तो कुरा नभन्ने पनि जिकिर गरे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरुले सल्लाह गरेर नै पार्टी नेतृत्वमाथि ध्यानाकार्षण पत्र बुझाएको सुनाए ।

उनले स्थानीय तहको निर्वाचनमा एमाले पराजित भएपछि अहिले माओवादी केन्द्र र आफ्नो पार्टीसँग एकताको प्रस्ताव गरिरहेको बताए । तर, आफूहरु एमालेको प्रस्तावमा नपर्ने उनको भनाई छ । उनले पाँच दलीय गठबन्धनभित्र पनि माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जसपा र जनमोर्चाबीच गठबन्धन हुने सुनाए । उनले आफ्नो पार्टी गठबन्धनसहित चुनावमा जाँदा एमाले र आफ्नो पार्टीको साइज एकै हुने जिकिर गरे ।

उनले चुनावअघि माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाबीच एकताको सम्भावना नरहेको स्पष्ट पारे । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै परिवारका सदस्य र नातागोता भएकाहरुको ट्रष्ट बनाएर आफ्नो सम्पत्ति दान गरेको भनेर बोलेको आरोप लगाए । उनले भने,‘केपी ओलीले संसद्मा के भने, मैले मेरो सम्पत्ति ट्रष्टमा राखें, मलाई भ्रष्टाचारको दोष लगाए, मेरो सम्पत्ति सबै ट्रष्टमा छ भने, अनि ट्रष्टमा को को छन् भन्दा नाम नभनौं ऋषिजी खोजेर हेर्नुहोस, नातागोता, लटरपटर, सबै छन् । सबै त्यहीँबाट लुड्याउने, ट्रष्टमा राखें मलाई भोट दे भन्ने, त्यो विक्रि भएन । हिम्मत त कुनै प्रधानमन्त्रीको ट्रष्टमा सम्पत्ति राख्ने, विरोध खतिवडाले यहीँबाट घोषणा गर्छ मेरो श्रीमती, मेरो बुवा, मेरा छोराछोरी, मेरो मामा र भाञ्जा बस्छन्, आजैबाट मेरो सम्पत्ति ट्रष्टमा राख्छु । यदि केपी ओलीले आफ्नो सम्पत्ति नेपाल सरकारलाई दिए भने म पनि मेरो सबै सम्पत्ति नेपाल सरकारलाई दिने घोषणा गर्दछु ।’



प्रतिक्रिया दिनुहोस्