Logo

अमेरिकामा ट्रकमा ४६ आप्रवासीको शव भेटियो, मेक्सिको हुँदै लुकाएर टेक्सास ल्याइएको आशंका



एजेन्सी, १४ असार । सोमबार अमेरिकाको टेक्सासमा सडक छेउमा पार्किङ गरेको ट्रकमा ४६ आप्रवासीको शव फेला परेको छ । ट्रकमा १ सयभन्दा बढी यात्रु सवार थिए । अस्पतालमा १६ जनालाई भर्ना गरिएको भारतीय समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ ।
उपचाररत १६ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

अत्याधिक गर्मीका कारण ट्रकको कन्टेनरको तापक्रम बढेर मानिसहरु गर्मीको सिकार भएको बताइएको छ । यो १८ पाङ्ग्रे ट्रक टेक्सासको सान एन्टोनियो सहरमा फेला परेको हो । ट्रकमार्फत अवैध रुपमा सीमा नाका हुँदै मानिसहरु आएको आशंका गरिएको छ । सान एन्टोनियो शहर टेक्सास–मेक्सिको सीमाबाट करिब २५० किलोमिटर टाढा छ।

फायर सर्भिसका एक अधिकारीका अनुसार ट्रक कन्टेनरको ढोका आधा खोलिएको थियो। भित्र भेन्टिलेसनको लागि ठाउँ थिएन र कन्टेनरमा पानीको सुविधा थिएन। घाइते ३ जनाको अवस्था सामान्य रहेको बताइएको छ ।

यो १८ पाङ्ग्रे ट्रक टेक्सासको सान एन्टोनियो सहरमा सडकको छेउमा पार्क गरिएको अवस्थामा फेला परेको थियो ।
टेक्सासका गभर्नर ग्रेग एबोटले यी मृत्युका लागि अमेरिकी राष्ट्रपति जो बाइडेनलाई दोष दिएका छन्। एबटले घातक खुला सीमा नीतिका कारण यी मृत्यु भएको बताए। गर्मी महिनाहरूमा एन्टोनियो सहरको तापक्रम निकै बढ्छ। सोमबार यहाँको तापक्रम ३९.४ डिग्री सेल्सियस थियो ।

मेक्सिकोका विदेशमन्त्री मार्सेलो एब्रार्डले पीडितको नागरिकताबारे अहिलेसम्म कुनै जानकारी नभएको बताए । उनीहरुको पहिचान गर्न दूतावासका अधिकारीहरु घटनास्थल पुगेका छन् ।



प्रतिक्रिया दिनुहोस्