Logo

बाढीको वितण्डाः २ सय उद्योगको उत्पादन बन्द



विराटनगर, असार १५। मंगलवारको भारी वर्षाले सुनसरी मोरङ औद्योगिक कोरिडोरका २ सय उद्योगमा पानी पसेको छ । पानीले तत्कालै ठूलो क्षति नभए पनि उत्पादन भने बन्द गरिएको छ ।

उद्योग संगठन मोरङका महानिर्देशक चूडामणि भट्टराईका अनुसार बूढीगंगा र कटहरी गाउँपालिकाका करीब २ सय उद्योगमा वर्षाको पानी पसेकाले उत्पादन प्रभावित भएको छ ।

६ लेनको सडक निर्माण गर्दा पानीको निकास नराखेकाले बूढीगंगा र आसपासका उद्योगहरू वर्षेनि डुबानमा पर्ने गरेका छन् । त्यस्तै कटहरी गाउँपालिकामा निर्माणाधीन सडकको दुवैतर्फ रिटेनिङ वाल बनाइएकाले वर्षाको पानी नालामा जान नपाउँदा उद्योगभित्र पसेको हो । गत कात्तिकको बेमौसमी बाढीबाट करोडौं नोक्सानी बेहोरेका उद्योगहरूले पुनः बाढीको सामना गर्नुपरेको भट्टराईले बताए ।

उद्योगभित्र पसेको पानीले क्षति नपुर्‍याए पनि काम गर्न र विद्युत् सर्किटमा समस्या उत्पन्न हुने हुँदा मंगलवार दिनभर २ सयभन्दा बढी उद्योग सञ्चालनमा आएनन् ।

कात्तिकको बाढी ३ सय उद्योगमा छिर्दा २ अर्ब ४६ करोड रुपैयाँ बराबरको क्षति भएको बताइएको छ । सरकारका माथिल्लो निकायलाई बाढीको विपद्बारे जानकारी गराउँदा पनि नियन्त्रणका लागि ठोस कदम नचालेको भट्टराईले बताए ।

विराटनगरका विभिन्न बस्तीमा पानी पसेपछि ४० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्