Logo

केपी ओली र माधव नेपाल मिलेर मलाई धेरै पटक सताएका छन्ः वामदेव गौतम



काठमाडौं, १५ असार । नवगठित नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले केपी शर्मा ओली र माधवकुमार नेपाल एकअर्काको दुश्मन नभएको बताएका छन् ।
प्राइम एचडी टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग हिजो राति कुरा गर्दै संयोजक गौतमले भने, “तत्कालीन नेकपाबाट अहिले चारवटा पार्टी बनेका छन् । तर मुख्य समस्या तीनवटा पार्टीबीच छ । अझ गम्भीर समस्या नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी)बीच छ । तर माधवकुमार नेपाल र केपी ओली एकअर्काको दुश्मन होइनन् । नेकपा एमाले निर्माण भएदेखि सँगै रहे । घनिष्ट मित्र र दुःखसुखको साथी हो । एकअर्कालाई उठटाउन अनेक सहयोग गरेका छन् । बरु यी दुई मिलेर मलाई धेरै पटक सताएका छन् ।”
एमाले र एकीकृत समाजवादी मिल्नै नसक्ने अवस्था नरहेको पनि उनले औंल्याए । उनले थपे, “पहिले म पनि नेकपा एमालेबाट फुटेकै हुँ । एकता गर्ने स्थितिमा खुरुक्क मिलियो । अंकमाल गरियो । केपी र माधवले पनि बाहिर केही नभनीकन मनमनै एकअर्कालाई क्षमा दिन सक्नुपर्छ । पार्टी एकता अहिले असम्भव छ, भोलि सम्भव हुन्छ ।”
नेता गौतमले केपी ओलीसँग गत वर्ष मंसिरदेखि सम्पर्क नभएको पनि बताए । उनले भने, “केपी ओलीसँग गत मंसिरदेखि कुरा भएको छैन । त्यतिबेला पनि फोनमा कुरा भएको हो । म बालकोट गएको थिएँ । उहाँ घरमा हुनुहुन्थेन । माधव नेपालसँग धेरै कुरा भएको छ । उहाँले मलाई एकीकृत समाजवादी आउन भनिरहनुभएको छ । मैले उहाँको अनुरोधमा पार्टीको चुनावी गीत पनि लेखिदिएँ ।”
उनले नेकपा विभाजन गर्ने सर्वोच्च अदालतको फैसला त्रुटिपूर्ण भएको बताए । गौतमले थपे, “तीन वर्षको बच्चालाई फेरि शिशुमा झार्न मिल्छ ? त्यो प्राकृतिक न्यायको सिद्धान्त विपरीत छ । नेकपा विभाजन गर्ने सर्वोच्च अदालतको फैसला त्रुटिपूर्ण हो । नेकपा निर्माणका निम्ति मैले लामो समय लगाएँ । ४६ औं पटकको पुनर्गठनमा माओवादी केन्द्र र एमाले जुटेर नेकपा बनेको थियो । पार्टी फुट्नमा मेरो मुख्य होइन, सहायक भूमिका रह्यो । फुटाउनेलाई मेरो साथ रहेन । मेरो मिसन पार्टी एकता गर्ने हो । नभए चुनावी तालमेल गर्ने हो । सबै कम्युनिस्ट पार्टी सम्भव नभए दुईतीनवटा पार्टी एकता हुन्छ । म त्यसमा सामेल हुन्छु ।”



प्रतिक्रिया दिनुहोस्