Logo

भारतको नैनितालको स्कुलमा नेपाली विद्यार्थीको मृत्युको घटनामा प्रिन्सिपल र वार्डेनलाई कैद सजाय



काठमाडौं, १५ असार । भारतको नैनितालस्थित एक विद्यालयमा आठ वर्ष अघि नेपाली विद्यार्थीको मृत्यु भएको घटनामा प्रिन्सिपल र वार्डेनलाई कैद सजाय तोकिएको छ । आज उत्तराखण्डको अदालतले नेपाली विद्यार्थी शान प्रजापतीको मृत्यु प्रकरणमा सजाय तोकेको हो ।

भारतीय पत्रिका दैनिक जागरणको अनलाइन संस्करणले नैनितालको प्रतिष्ठित शेरवुड कलेजमा आठ वर्ष अघि भएको घटनामा प्रिन्सिपल अमनदीप संधू र वार्डेन रवि कुमारलाई दुई-दुई वर्ष कारागार र ५०-५० हजारको जरिवाना तोकेको छ ।

प्रजापतीकी आमा नीना श्रेष्ठले भारतको अदालतमा रिट दायर गरी सजायको माग गरेकी थिइन् । घटना सन् २०१४ को हो जतिबेला शान प्रजापती ९ कक्षामा शेरवुड कलेजमा अध्ययन गर्दथे । उनको स्वास्थ्य खराब भएको तीन दिनपछि मात्र कलेजले अस्पताल भतर्ना गरेको थियो । हल्दानीको निजी अस्पताल लगिएका प्रजापतीलाई दिल्ली रिफर गरिएको थियो । उनलाई दिल्ली लाँदालाँदै बाटोमा मृत्यु भएको थियो ।

घटनापछि रिट दायर भएपछि मृतक शान प्रजापती, उनका साथी र कलेजका डाक्टरसहित १५ जनाले बयान दिएका थिए । उनलाई विरामी हुँदा पनि ५ दिनसम्म अस्पताल नलगी कलेजमै राखिएकोले प्रशासनलाई जिम्मेवार ठहराइएको हो । कलेजका चिकित्सकले पनि प्रजापतीको स्वास्थ्य खराब भएको पछि मात्र थाहा दिइएको बयानमा भनेका थिए ।



प्रतिक्रिया दिनुहोस्