Logo

प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको कुनै अर्थ र औचित्य छैनः देव गुरुङ



काठमाडौं, १६ असार । नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले ५ दलीय गठबन्धनको भविष्य नेपाली कांग्रेस परराष्ट्रनीतिमा निर्भर हुने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गुरुङले भने, “गठबन्धनभित्र सिट बाँडफाँडभन्दा पहिले निर्वाचनको टुंगो हुनुपर्‍यो। नीतिगत रुपले टुंगो लाग्नुपर्‍यो । मुलुकको राष्ट्रियता संकटमा छ । परराष्ट्र नीतिमा समस्या छ । नेपाली कांग्रेस आईपीएस, एसपीपीबाट निस्कन तयार हुने कि नहुने ? मुलुकको स्वाधीनताको रक्षाका लागि के हो त कांग्रेसको नीति ? त्यस आधारमा गठबन्धनको भविष्य निर्धारण हुन्छ ।”
अहिलेको अवस्थामा प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको कुनै अर्थ र औचित्य नभएको उनले बताए । गुरुङले भने, “अमेरिकी अधिकारीहरुको रहस्यमय भ्रमण भइरहेको छ । अहिलेको सशंकित र तनावको स्थितिमा जबर्जस्ती अमेरिका भ्रमण गर्नुको तात्पर्य के हो ? अमेरिका गएर रहस्यमय र गोप्य सम्झौता नगर्ने ग्यारेन्टी के ? एसपीपीको ठाउँमा अर्को नाम राखेर भित्रभित्रै तयारी किन भइरहेको छ ?”
अमेरिका र नेपालको समान स्वार्थ नभएकाले पनि अमेरिका जान नहुने उनले दोहोर्याए । गुरुङले थपे, “अमेरिकाको परराष्ट्र नीति हेर्दा युद्धबाहेक अरु नीति छैन । नेपाल शान्तिको एजेन्डामा छ, अमेरिका सैन्य एजेन्डामा । यो नर्मल कोर्स होइन । नेपालमा अमेरिकी सेना तैनाथ गर्ने, फौजी क्याम्प राख्ने, शरणार्थीमार्फत तिब्बत विभाजन गर्ने नीतिलाई नेपालले मान्न सक्दैन । यो एक चीन नीतिविरुद्ध छ । निश्चित रुपमा यो भ्रमण स्थगित गर्नुपर्छ ।”



प्रतिक्रिया दिनुहोस्