Logo

सधैंको झ्याङझ्याङ गर्नुभन्दा आआफ्नो बाटो लिनुपर्छ भन्ने मत पनि छः जसपा नेता



काठमाडौं, १६ असार । जनता समाजवादी पार्टी (जसपा)का नेता डम्बर खतिवडाले पार्टी विभाजनको डिलमा रहेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खतिवडाले भने, “अहिले पार्टीभित्र कार्यशैलीगत समस्या छन् । त्यसको समाधानका लागि हामी बहुआयामिक छलफल गरिरहेका छौं । स्थानीय तहको निर्वाचनपछि कुनै बैठक भएको छैन । भरिसक्य पार्टी जोगाउनुपर्छ भन्ने नेता कार्यकर्ताको धारणा सुन्छु । हल भएन भने अप्ठ्यारो स्थिति आउन सक्छ । कसैले कसैलाई कारबाही गर्नु वा सधैंको झ्याङझ्याङ गर्नुभन्दा आआफ्नो बाटो लिनुपर्छ भन्ने पनि छ । सबै सम्भावनाहरुको बीचमा छलफल चलिरहेको छ ।”
खतिवडाले पार्टी विभाजन नेपालको राजनीतिक संस्कृति भएको पनि औंल्याए । उनले भने, “पार्टी विभाजन नेपालको राजनीतिक संस्कृतिको प्रभाव पनि हो । जसपा नेपालकै पार्टी हो । तर, राजनीति यस्तै त छ नि । अलि ठूला नेता भएपछि बाझ्न थाल्छन् । अहिलेको समस्या पार्टीको आन्तरिक सञ्चालनमा असहमति हो ।”
राजेन्द्र महतो, महन्थ ठाकुर छुट्टिएको बेलाजस्तो वैचारिक लडाइँ नभएको पनि उनले स्वीकारे । उनले भने, “उपेन्द्र यादवसँग बाबुराम भट्टराईको विमति राजनीतिक कार्यदिशा, सिद्धान्त र विचारको बहससँग सम्बन्धित छैन । अहिले कार्यशैलीगत कुरा छ । सामूहिक निर्णय र समावेशी नेतृत्वको प्रश्न छ । राजेन्द्र महतोहरु निस्कँदा बरु जेन्युन विषय थियो । केपी ओलीको संसद् विघटनलाई कसरी हेर्ने भन्ने प्रस्ट विभाजन थियो । अहिले पार्टी बैठक नै हुन सकेको छैन ।”



प्रतिक्रिया दिनुहोस्