Logo

७२ जिल्ला बाढीपहिरो जोखिममा



काठमाडौं, १६ असार । बाढीपहिरो जोखिममा रहेका ७२ जिल्लामा धनजनको ठुलो क्षति हुन सक्ने भन्दै सरकारले राहत तथा उद्धारका लागि तीनवटा प्रदेशमा नेपाली सेनाका हेलिकोप्टर तयारी अवस्थामा राखेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ७२ वटा जिल्ला बाढीपहिरोको जोखिममा रहेको जानकारी दिएसँग सरकारले पूर्वतयारीका क्रममा सुरक्षा निकाय र सम्बद्ध सरोकारवालालाई परिचालन गर्न तथा राहत र उद्धारमा सहयोग पुर्‍याउन सेनाका हेलिकोप्टर तयारी अवस्थामा राखेको हो।

सातवटै प्रदेशलाई समेट्नेगरी ती हेलिकोप्टर तयारी अवस्थामा राखेको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार प्रदेश १ को इटहरी, मधेस प्रदेशको महोत्तरी र कर्णाली प्रदेशको सुर्खेतमा नेपाली सेनाका हेलिकोप्टरलाई तत्काल उद्धार तथा राहतका लागि तयारी अवस्थामा राखिएको हो।

‘गृह मन्त्रालयले सबै प्रकारका उपाय अवलम्बन गरेको छ, नेपाली सेना र निजी क्षेत्रका हेलिकोप्टरहरूलाई राहत तथा उद्धारका लागि तयारी अवस्थामा राखिएको छ,’ पोखरेलले भने। उनका अनुसार गृह मन्त्रालयमा बुधबार गृहमन्त्रीले विपद् व्यवस्थापनका लागि भइरहेका कार्यहरूबारे सरोकारवालासँग जानकारी लिए।

गृहमन्त्री बालकृष्ण खाणले विपद्को सामना एकीकृत प्रयासबाट मात्रै सम्भव भएको बताएको जानकारी प्रवक्ता पोखरेल दिए। ‘मनसुन पूर्वतयारी प्रतिकार्य बैठकमा विपद्मा समन्वय गर्नुपर्ने सरकारी निकायका पदाधिकारीलाई सरकारको मुख्य दायित्व प्राकृतिक प्रकोपबाट जनधनको सुरक्षा गर्नु भएकाले त्यसका लागि एकीकृत प्रयास गर्न आग्रह गरिएको छ,’ गृहमन्त्रीलाई उद्धृत गर्दै प्रवक्ता पोखरेलले भने। मन्त्रालयमा सडक, खानेपानी, सञ्चार, स्वास्थ्य, सुरक्षासहितका निकायलाई तयारी अवस्थामा बस्न निर्देशन दिइएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखा, सडक विभाग, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिँचाइ विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका तर्फबाट विपद् न्यूनीकरण र व्यवस्थापन पूर्वतयारीका लागि गरिएका कामका विषयमा मन्त्रालयमा छलफल भएको थियो। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्