Logo

राष्ट्रिय परिचयपत्र बनाउन बिहानैदेखि लाइन लाग्नु पर्दैनः महानिर्देशक



काठमाडौं, १६ असार । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तीर्थराज भट्टराईले अत्यावश्यक काममा बाहेक कार्यालयमा भीडभाड नगर्न आह्वान गरेका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै महानिर्देशक भट्टराईले भने, “राहदानी बनाउन परिचयपत्र नम्बर अनिवार्य हुन्छ । तर जसलाई आवश्यक हुन्छ, उही मात्र सम्बन्धित कार्यालयमा जानु पर्छ । काठमाडौंमा निकै भीडभाड बढेको देखिन्छ । त्यसो हुनुको कारण नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, मतदाता नामावली, मुद्दामामिला पनि हुन सक्छ । परिचयपत्रका लागि अनलाइनमा जाने सिस्टम पनि छ । बिहानदेखि लाइन लाग्नु पर्दैन । अहिले कोरोनाको डर पनि छ । अत्यावश्यक हुँदा मात्र लाइन लाग्नुस् । यो राष्ट्रिय अभियान निरन्तर चलिरहन्छ । यसमा मतदाता नामावलीजस्तो टाइमलाइन छैन ।”
भट्टराईले राष्ट्रिय परिचयपत्र बनेपछि व्यक्तिगत निगरानी गर्न सजिलो हुने पनि बताए । उनले भने, “राष्ट्रिय परिचयपत्र भनेको सही तथ्य, तथ्यांक र पहिचान स्थापित गर्ने पद्धति हो । यो अरु पहिचानको मूल मेरुदण्ड हो । अहिले १६ वर्ष पुगेका सबै नेपालीको राष्ट्रिय परिचयपत्र बन्छ । पुरानो नागरिकता पद्धतिमा थोरै मात्र विवरण छ । बायोमेट्रिक विवरण छैन । अहिले नागरिकताप्राप्तको मात्र परिचयपत्र बन्छ भने बिस्तारै बालबालिका, विदेशमा बस्ने नेपाली र नेपालमा बस्ने विदेशी नागरिकलाई पनि हामी परिचयपत्र दिन्छौं ।”
उनले अहिलेसम्म ७५ लाखको वैयक्तिक र जैविक विवरणसहितको राष्ट्रिय परिचयपत्र जारी गरिसकिएको जानकारी दिए । भट्टराईले थपे, “७७ जिल्लाका प्रशासन र इलाका प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बन्छ । ३३ जिल्लाका वडावडामा घरदैलो गरिसकिएको छ । १३ जिल्लामा चालु छ । अहिलेसम्म ७५ लाखको वैयक्तिक र जैविक विवरणसहितको परिचयपत्र जारी गरिसकिएको छ, चारपाँच लाखको जारी हुन बाँकी छ ।”



प्रतिक्रिया दिनुहोस्