Logo

उपेन्द्रको निर्णय देउवाले कार्यान्वयन गर्न नमानेपछि जसपाका मन्त्री यथावत्



काठमाडौं, १६ असार । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री देउवालाई भेटेर अध्यक्ष उपेन्द्र यादवको निर्णय एकल भनिदिए । उनले उपेन्द्रको निर्णय कार्यान्वयन गर्न खोजे आफूसँग रहेका सांसदहरूले समर्थन फिर्ता लिने कुरा पहिल्यै नै जानकारी गराए पछि देउवा पछि हटे । उनले जसपा भित्रको लफडा मिलाए मात्र मन्त्रीहरू हेरफेर गर्ने बताए ।

आफ्नो पार्टीको मन्त्रिहरू फेरबदलका लागि मंगलवार देउवालाई भेटेका उपेन्द्रलाई प्रधानमन्त्रीले पार्टी भित्र सहमति गरेर आउन सुझाएका थिए। प्रधानमन्त्रीले आफ्नो कुरा नसुने पछि बाध्य भएर उपेन्द्रले बुधवार भट्टराईसंग भेट गरेर दुई(दुई जना मन्त्री पठाउने प्रस्ताव गरेका थिए।

तर भट्टराईले उपेन्द्रसंग सहमति गर्न मानेनन्। यस भेटमा बाबुरामले अब संगै बस्ने अवस्था नभएको र आफूहरू मन्त्रीको कोटाका लागि सहमति नजनाउने स्पष्ट पारेका थिए।

बाबुरामले सहमति नजनाए पछि बुधवार अपराह्न उपेन्द्रले संसदीय दलका अनौपचारिक बैठक बोलाएर तत्काल सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयांलाई पठाउने वातावरण नरहेको प्रष्ट पारेका थिए।

बाबुरामको पक्षमा हस्ताक्षर गरेका सांसदहरू समेतको बैठकमा उपेन्द्रले मन्त्री हेरफेरको लागि आफूलाई धेरै दबाब नदिन सासंदहरूलाई आग्रह गरेका थिए। तर बैठकमै सांसद प्रदीप यादव, मृगेन्द्र यादव सहितका सांसदहरूले तत्काल मन्त्रीहरूलाई फिर्ता बोलाउने र नयांको नाम बालुवाटार पठाउन दबाब दिएका थिए।

नेकपा एस जस्तै पार्टीबाट औपचारिक निर्णय गरेरनै फिर्ता बोलाउने र नयांको नाम पठाए पछि आ़फूहरूले प्रधानमन्त्रीलाई समेत दबाब दिने कुरा ती सांसदहरूले गरेका थिए।

संसदीय दलको बैठकमा केही बेर मन्त्री बन्ने आकांक्षी सांसदहरू र उपेन्द्र यादवबीच चर्काचर्की समेत भए पछि आक्रोशित उपेन्द्रले तत्काल मन्त्रीहरूको फेरबदल नहुने भन्दै जसलाई पार्टी छोडेर जाने इच्छा छ ऊ आफ्नो निर्णय लिनमा स्वतन्त्र छ भन्ने आशय व्यक्त गरेका थिए।

बाबुरामसंगको भेटमा उपेन्द्रले नमिल्ने भए सहमतिमै अल्लगिने प्रस्ताव राखेका थिए। बाबुरामले पनि उपेन्द्रको पार्टी संचालन विधि र कार्यशैली प्रति रोष प्रकट गर्दै सबै निर्णय एकलौटीनै गर्ने भए किन संगै बस्ने कुरा भनेका थिए।

 



प्रतिक्रिया दिनुहोस्