Logo

बढ्दै छ विदेशी हवाई कम्पनीको चासो



काठमाडौं, असार १७। कोरोना महामारीमा सबैभन्दा बढी क्षति भोगेको नेपाली उड्डयन क्षेत्र पुनः चलायमान भएसँगै विदेशी वायुसेवा कम्पनी नेपालमा उडान भर्न उत्साहित हुन थालेका छन् ।

पछिल्लो समय महामारीको असर कम भएलगत्तै पर्यटकीय गतिविधि बढेकाले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न चाहने विदेशी हवाई कम्पनीले चासो देखाउन थालेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थप दुई विदेशी हवाई कम्पनीले नियमित उडान भर्ने तयारी गरेका छन् । थाई स्माइलले असार १७ गतेदेखि हप्ताका सातै दिन बैङ्कक–काठमाडौँ–बैङ्कक उडान गर्ने तयारी गरेको छ । श्रीलङ्कन एयरलाइन्सले पनि असार २२ गतदेखि कोलम्बो–काठमाडौँ–कोलोम्बो नियमित उडान गर्न अनुमति पाएको छ ।

गत जेठ २ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा समेत उडान भर्न विदेशी हवाई कम्पनीले चासो बढाउँदै लगेका छन् । गौतम बुद्ध विमानस्थलमा चाँडै थप तीन विदेशी वायुसेवा कम्पनीले नियमित उडान भर्ने तयारी गरिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

हङ्गेरीको बिज एयर, भारतको गो एयर, इन्डोनेसियाको गरुडा एयर तथा यूएईका एयर अरेबिया र फ्लाई दुबईको भैरहवामा नियमित व्यावसायिक उडानका लागि अनुमतिको प्रक्रिया अगाडि बढेको छ । गरुडा र बिज एयरले सेप्टेम्बरदेखि उडान थाल्ने तयारी गरेका छन् ।

पछिल्लो समय गौतम बुद्ध विमानस्थलमा उडान गर्नका लागि कतार एयरवेज, म्यानमार एयरवेजलगायतका विदेशी विमान सेवा कम्पनीले समेत चासो देखाइरहेका छन् तर यी कम्पनी प्रक्रियामा आइसकेका छैनन् ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हाल कुवेतको जजिरा एयरले कुवेत–भैरहवा–कुवेत साताको तीन उडान गरिरहेको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार गौतम बुद्ध विमानस्थलबाट श्रम गन्तव्य मुलुक जान चाहने यात्रुको माग तथा चाप पनि उच्च रहेकाले विदेशी वायुसेवा कम्पनीले पनि सोझै उक्त विमानस्थलमा उडान भर्न चासो देखाउन थालेका छन् ।



प्रतिक्रिया दिनुहोस्