Logo

गुरुराज घिमिरेलाई धमलाको प्रश्नः “देउवाविरुद्ध मोर्चाबन्दी किन ?”



काठमाडौं, १७ असार । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टीको विधान र परम्परा मिचेर एकलौटी नगर्न सभापति शेरबहादुर देउवालाई चुनौती दिएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता घिमिरेले भने, ‘पार्टी विधान र परम्परा अनुसार चलोस् भन्नु त सभापतिलाई सहयोग गरेको हो नि । पार्टी विधानको धारा ६० अनुसार तीन महिनाभित्र कोषाध्यक्ष नियुक्ति होस्, ६ महिनाभित्र केन्द्रीय समिति मनोनयन, विभाग गठन होस् भनेको विरोध होइन नि । हामीले पार्टी सभापतिलाई मदत गर्न खोजेका हौं । समयभित्रै काम सम्पादन गर्नुपर्छ भन्नेलाई विरोधी ठान्नुभएन । सुझाव दिँदा विरोध मान्ने ?”
पार्टीको केन्द्रीय समिति विस्तार र चारवटा भातृ संगठनमा नियुक्ति गर्दा इतर पक्षसँग सरसल्लाह नगरेकामा पनि घिमिरेले रोष प्रकट गरे । उनले थपे, “हाम्रो भनाइ विधान अनुसार पार्टी चलाउनुपर्छ र पार्टीको परम्परा अनुसार इतर पक्षसँग सरसल्लाह र परामर्श गर्नुपर्छ भन्ने हो तर पार्टी सभापतिले चारवटा भातृसंगठनमा नियुक्ति, केन्द्रीय समितिमा मनोनयन, सरकार सञ्चालन वा नियुक्ति गर्दा कुनै सरसल्लाह गर्नुभएन । यो एकलौटी गरेको दृष्टान्त हो । यो सभापतिको निजी वा घरेलु मामिला होइन । नौ लाख पार्टी सदस्यको सरोकारको विषय हो । पार्टी विधान अनुसार चल्दै चलेन । विधानको निष्ठापूर्ण अभ्यास नहुनु विधानको उल्लंघन भएन ?”
उनले पार्टी सभापति शेरबहादुर देउवालाई बलियो र सफल बनाउन सुझाव दिएको दाबी पनि गरे । घिमिरेले भने, “सभापतिजीले भेला बोलाउने अवस्था नै आउन दिनुहुने थिएन । ६ महिनाभित्र गर्नुपर्ने काम गरेको भए पनि हामीले बोल्नुपर्ने थिएन । हाम्रो माग भनेको पार्टीलाई एकढिक्का पार्नुपर्छ भन्ने हो । पार्टीको शक्तिलाई एकीतृत गर्नैपर्छ । आन्तरिक एकता मजबुत बनाउनैपर्छ । हामी चाहन्छौं, उहाँ सफल हुनोस्, पार्टी बलियो र प्रभावकारी होस्, विगतका कमीकमजोरी नदोहोरिऊन् । अब पार्टी चलाउने परिपाटीमा सुधारको आवश्यकता छ । सभापतिले यसलाई नजरअन्दाज गर्न पाउनहुन्न “।

 



प्रतिक्रिया दिनुहोस्