Logo

प्रचण्ड र माधव नेपालले कांग्रेससँगको गठबन्धन छोडे नयाँ किसिमले एकताबारे छलफल हुन्छ : युवराज ज्ञवाली (भिडिओसहित)



काठमाडौं, १७ असार । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले वामपन्थीहरुबीच एकता हुनु राम्रो भएपनि यतिवेला वामपन्थी एकताको सम्भावना नरहेको स्पष्ट पारेका छन् । उनले कम्युनिष्टहरुको बीचमा पनि गम्भीर अन्तरविरोध रहेको टिप्पणी गरे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अहिले कांग्रेससँग मिलेर एमाले सिध्याउने शक्ति पनि यहीँ रहेकोले वामपन्थी एकताको सम्भावना नरहेको जिकिर गरे ।

उनले पाँच दल मिलेर एमालेलाई सिध्याउन खोजेपनि अहिलेपनि एमालेको मत सबैभन्दा धेरै नै रहेको दाबी गरे । उनले आफूहरु एकताविरोधी नभएको जिकिर गरे । उनले भने,‘कांग्रेससँग मिलेर एमाले सिध्याउन जो लाग्नुभएको छ, उहाँहरुले अब लौ न हजुर एकता गरौं भनेर लाग्नुको कुनै अर्थ छ र ? उहाँहरुले अब हामी कांग्रेससँग गठबन्धन गर्दैनौं । ल अब वामपन्थी एकता गरौं भन्नुभयो भनेमात्रै छलफल सुरु हुन्छ ।’

उनले वामपन्थी एकता देशको पनि आवश्यकत्ता भएको जिकिर गरे । उनले आफ्नो पार्टी अहिलेपनि जनमतको हिसाबले नेपालको सबैभन्दा ठूलो पार्टी भएकोले आगामी निर्वाचनमा एक्लै निर्वाचनमा जाने सुनाए । उनले आगामी निर्वाचनमा एक्लै लडेर चुनाव जित्ने हैसियत र जनाधार रहेको दाबी गरे । ज्ञवालीले पुष्पकमल दाहाल र माधवकुमार नेपालले अहिलेको पाँच दलीय गठबन्धन तोडेर आए वाम एकताको लागि नयाँ ढंगले छलफलको प्रारम्भ गर्न सकिने बताए ।



प्रतिक्रिया दिनुहोस्