Logo

एक मुठठी श्वाँस रहुञ्जेलसम्म राष्ट्रिय स्वाधिनताको लागि कसैसँग घुँडा टेकिँदैन् : देव गुरुङ (भिडिओसहित)



काठमाडौं, १७ असार । नेकपा (माओवादी केन्द्र) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिकाको भ्रमण स्थगित गर्नुपर्ने माग गरेका छन् । उनले अहिलेको सन्दर्भमा प्रधानमन्त्री देउवाले अमेरिकाको भ्रमण गर्नु सान्दर्भिक नहुने तर्क गरे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अमेरिका भ्रमणको क्रममा प्रधानमन्त्री देउवाले एसपिपीमा सहभागी भए आफूहरुले त्यसको भण्डाफोर गर्ने र सरकारबाट पनि बाहिरिने चेतावनी दिए । उनले आफूहरु कांग्रेसको पुच्छर नभएको जिकिर गरे । उनले एमसिसीको सवालमा पनि १२ बुँदे व्याख्यात्मक घोषणा गरिएकाले यसको अवमूल्यन गर्न नहुने बताए । उनले आफूहरु राष्ट्रिय स्वाधिनताको पक्षमा दृढ भएर उभिने जिकिर गरे ।

उनले आफूहरुको अहिलेको जीवन मुनाफाको भएको भन्दै राष्ट्रिय स्वाधिनताको रक्षाको लागि जस्तोसुकै त्याग र बलिदानी दिन पछि नपर्ने बताए । उनले भने,‘हामीले डेमोक्रेसीको लागि १० वर्ष जनयुद्ध लडेको हो । राष्ट्रिय स्वाधिनताको निम्ति बाँचिएको जीवनको एक मुठ्ठी प्राण बाँकी रहँदासम्म मुलुकको स्वाधिनताको लागि लडिन्छ । कसैको निम्ति मुलुकको स्वाधिनतामा घुँडा टेकिँदैन् ।’



प्रतिक्रिया दिनुहोस्