Logo

खोटाङमा गायन, नृत्य र सांस्कृतिक प्रतिभा प्रतियोगिताको तयारी



खोटाङ, १७ असार । खोटाङ कलाकार समाज, काठमाडौंले एकैसाथ गायन, नृत्य र साँस्कृतिक प्रतिभा प्रतियोगीताको तयारी गरेको छ । समाजले शुक्रबार दिक्तेल बजारमा पत्रकार सम्मलेन गर्दै आगामी माघ(फागुनमा खोटाङ गायन प्रतिभा, खोटाङ नृत्य प्रतिभा र खोटाङ प्रतिभा २०७९ प्रतियोगीताको तयारी गरेको जानकारी दिएको हो ।

खोटाङको गाउँ बस्ती, टोलटोलमा लुकेर रहेका गायन, नृत्य र स्थानीय सांस्कृतिक प्रतिभाहरूलाई मध्यनजर गर्दै गायन, नृत्य र सांस्कृतिक प्रतिभा प्रतियोगिताको तयारी गरिएको खोटाङ कलाकार समाजका अध्यक्ष रुपकुमार राईले बताए ।

प्रथम चरणमा खोटाङका १० वटै स्थानीय तहमा पालिकास्तरीय र पालिकास्तरीय प्रतियागिताबाट छानिएका तीन विद्याका उत्कृष्ट ३० प्रतियोगीबिचमा अन्तरपालिकास्तरीय प्रतिस्पर्धा गराएर जिल्लास्तरीय प्रतिभा घोषणाको तयारी गरिएको समाजले जनाएको छ । उत्कृष्ट घोषित प्रतिभालाई आफ्नो कलालाई व्यावसायिकता दिनुका साथै समाज र जिल्लाप्रति उत्तरदायी र प्रभावकारी भूमिका निर्वाहका लागि प्रोत्साहित गरिने अध्यक्ष राईले जानकारी दिए । समाजले जिल्लाका स्थानीय तहसँग हातेमालो गर्दै गायन, नृत्य र प्रतिभा प्रतियोगीता गर्न लागेको हो ।

पालिकास्तरिय गायन र नृत्य प्रतियोगीताका प्रथम, दोस्रो र तेस्रो हुने प्रतियोगीलाई क्रमशः ३० हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्रदान गरिने छ । एकजनालाई ३० हजारको प्रतिभा पुरस्कार प्रदान गरिने समाजले जनाएको छ ।

यस्तै, जिल्लास्तरीय गायन र नृत्य प्रतियोगीताका प्रथम, दोस्रो र तेस्रो र सान्त्वना स्थान प्राप्त गर्ने प्रतिभालाई क्रमशः दुई लाख, एक लाख, ५० हजार र २५ हजार नगद पुरस्कार प्रदान गरिने समाजका महासचिव धर्मराज पोखरेलले बताए । यस्तै एक लाख राशिको खोटाङ प्रतिभा पुरस्कार एकजनालाई प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

खोटाङको प्रत्येक गाउँ, नगर र बस्तीमा लुकेर रहेको उत्कृष्ट प्रतिभालाई खोजेर उनीहरुको कलालाई जिल्ला र देशव्यपी रूपमा चिनाउने लक्ष्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितालाई कम्तीमा दुई वर्षको अवधिमा निरन्तरता दिइने जनाइएको छ ।

यस्तै, समाजले आगामी १८ भदौमा काठमाडौंमा खोटाङ विशेष सांगीतिक कार्यक्रमको तयारी गरेको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा गायीका कला राई, बिक्रम राई, मीना राई, अनिल राई, गीतकार भुवन पारुहाङलगायतको उपस्थिति थियो । जिल्लाका स्थापितदेखि संघर्षरत कलाकारलाई एउटै छानामुनि गोलबद्ध गरेर संस्थागत रूपमा योगदान दिन र लक्ष्य प्राप्ति गर्ने उद्देश्य बोकेर २०७७ असोजमा कलाकार समाजको स्थापना गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्