Logo

बाबुराम सांसदहरुसँग आन्तरिक छलफलमा, कार्यकारिणी समितिको बैठकको लागि रणनीति बुन्दै



काठमाडौं, १७ असार । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई आन्तरिक छलफलमा जुटेका छन् । पार्टी विभाजनको मुखमा पुगेको चर्चाका बीच उनी आफूनिकट नेताहरुसँग आन्तरिक परामर्शमा जुटेका हुन् । उनले आज सिंहदरबारमा केही सांसदहरुसँग छलफल गरेका हुन् ।

पछिल्लो समय अध्यक्ष उपेन्द्र यादव र बाबुरामबीच मतभेद चुलिएको छ । आन्तरिक विवाद उत्कर्षमा पुगेको बेलामा यादव र भट्टराई बसेर सहमतिमै अलग हुने निश्कर्ष निकालेको कुरा बाहिर आएको छ । तर, भट्टराईले भने आफूले पार्टी छोड्ने वा अलग हुने प्रस्ताव नगरेको स्पष्ट पार्दै आएका छन् ।

यो बीचमा दोस्रो तहका नेताहरु भने पार्टी एकताको लागि सक्रिय भएका छन् । यसरी एकताको लागि सक्रिय हुने नेताहरुमा भने राजकिशोर यादव, गंगा श्रेष्ठ, प्रदीप यादवलगायत रहेका छन् ।

उनीहरु अहिलेको अवस्थामा पार्टी विभाजन गर्नु राम्रो नहुने भन्दै सकेसम्म आन्तरिक समस्या आपसी समझदारी र बैठकबाट हल गर्नुपर्ने पक्षमा उभिएका छन् । बाबुरामले भने पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा कडा रुपमा प्रस्तुत हुने र सबै कुरा त्यही बैठकमा राखेर जाने रणनीति बनाएका छन् ।

यादवले पछिल्लो समय एकपछि अर्को गरेर एकल निर्णय गरेको र पार्टीलाई सामूहिक भावनाबाट नचलाएको भट्टराई पक्षको आरोप छ । तर, यादव पक्षले भने बाबुरामले नै अलग हुने प्रस्ताव राखेकोले अब जानेलाई केही गर्न नसकिने निश्कर्ष सुनाएको छ । file photo



प्रतिक्रिया दिनुहोस्