Logo

पत्रकार र सञ्चारमाध्यमको प्रवद्र्धनमा टेवा पुग्ने सञ्चारनीति ल्याउन माग



काठमाडौँ,१७ असार । स्थानीय सञ्चार नीतिमा समेटिनुपर्ने विषयहरूका बारेमा आज शिवसताक्षी नगरपालिकास्थित दुधेमा पत्रकारसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाको आयोजना र शिवसताक्षी नगरपालिकाको सहकार्यमा भएको कार्यक्रममा सरोकारवालाबीचको बृहत् छलफलबिनै स्थानीय सरकारले ल्याउने सञ्चार नीति मान्य नहुने सहभागीहरूले जनाएका छन् ।

महासङ्घ प्रदेश नं १ का अध्यक्ष लीला घिमिरेले प्रेसलाई अङ्कुश लगाउनेभन्दा पनि पत्रकार र सञ्चारमाध्यमको प्रवद्र्धनमा टेवा पुग्ने सञ्चार नीति बन्नुपर्नेमा स्थानीय तहहरूलाई आग्रह गरिन् ।

उनले भनिन्, “हरेक पालिकाले संस्थागतरूपमा पत्रकार महासङ्घसँग सहकार्य गर्ने हो भने सञ्चारमैत्री र समृद्ध सञ्चार नीति बन्नछ ।” स्थानीय सञ्चारमाध्यम, स्थानीय सञ्चारकर्मी, स्थानीय भाषालगायतका विषयमा कानुन बनाउँदा नै स्थानीय सरकारले उनीहरूको विकास र प्रवद्र्धनमा टेवा पुग्ने गरी व्यवस्था गर्नुपर्ने अध्यक्ष घिमिरेको सुझाव छ ।

पत्रकार महासङ्घका जिल्ला अध्यक्ष टेकराज गिरीले स्थानीय सरकारले सञ्चार नीति बनाउँदा पत्रकार र सञ्चारमाध्यमलाई प्रतिबन्ध लगाउने खालका बनाउन नहुने बताइन् । स्थानीय सरकारले बनाउने सञ्चारसम्बन्धी ऐन तथा नीति निर्माणमा सहयोग पुग्ने गरी महासङ्घले कार्यशालामा आएका सुझावलाई पालिकामा पेस गर्न सहसचिव अर्जुन राजवंशीसहितलाई जिम्मेवारी प्रदान गरेको छ ।

पत्रकार महासङ्घ र स्थानीय सञ्चारसम्बद्ध सरोकारवालासँग छलफल नगरी लाखौँ खर्च गरेर गैससले बनाउने सञ्चारसम्बन्धी कानुन आफूहरूलाई मान्य नहुने भन्दै सहभागी सञ्चारकर्मीले सरोकारवालासँग छलफल, समन्वय र सहकार्यका लागि स्थानीय सरकारलाई आग्रह गरेका छन् ।रासस



प्रतिक्रिया दिनुहोस्