Logo

श्याम घिमिरेलाई धमलाको प्रश्नः “कांग्रेस पनि फुटको संघारमा पुग्न लागेको हो ?”



काठमाडौं, १८ असार । नेपाली कांग्रेसका नेता श्याम घिमिरेले पार्टीभित्रका असहमतिलाई सार्वजनिक बहस बनाउनु उचित नहुने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता घिमिरेले भने, “लोकतान्त्रिक पार्टीभित्र आआफ्ना विचार राख्ने छुट छ । पार्टीभित्र न्याय हुनुपर्छ भन्ने चाहना पनि जायज हो । अल्पमत र बहुमतको हिसाबले नहेरी पार्टीलाई एक ढिक्का पार्नुपर्छ भन्नेमा पनि सत्यता छ । तर महामन्त्री, उपसभापति, सहमहामन्त्री इतर पक्षमा हुनुहुन्छ । आन्तरिक असहमतिहरुलाई सार्वजनिक बहसको विषय बनाउनुभन्दा असार २७ गतेको केन्द्रीय समितिको बैठकमै राखेको भए हुन्थ्यो । पार्टीभित्र बहसको विषय बनाएको भए हुन्थ्यो । यसले पार्टी अनुशासन र मर्यादाबाहिर जान्छ । पार्टीलाई नै क्षति पुर्याउँछ ।”
उनले असन्तुष्टिहरु बाहिर आए पनि कांग्रेस नफुट्ने दृढता व्यक्त गरे । घिमिरेले भने, “असहमति राख्ने कुरा पार्टीको स्थापनाकालदेखि चल्दै आएको हो । पार्टीभित्र शक्ति सन्तुलन कायम गर्दै अघि बढ्छु भन्ने सभापतिजीको चाहनाले गर्नुपर्ने कतिपय काम अलिकति ढिला भएको हो । आन्तरिक द्वन्द्वको प्रतिच्छाया निर्वाचनमा नपरोस् भनेर सभापतिजी संयमित भएर अघि बढ्नु स्वाभाविक हो । उहाँ फुकेर कदम राखिरहनुभएको छ । बाँकी काम समयमै हुनेमा म विश्वस्त छु ।”
इतर पक्षले मन्त्रीमण्डलमा पनि सम्मानजनक सहभागिता पाएन, भातृसंगठनमा एकलौटी भयो नि भन्ने पत्रकार धमलाको प्रश्नमा कांग्रेस नेता घिमिरेले भने, “साथीहरुले भागबन्डा खोज्दैनौं, त्यसले विकृति र विसंगति बढायो भन्नुभएको हो । ४१ प्रतिशत भाग चाहिन्छ कहिल्यै भन्नुभएको जस्तो लाग्दैन । गठबन्धन सरकारमा कांग्रेसले प्रधानमन्त्रीसहित आठ जना मन्त्री पाएको हो । गुटउपगुट सन्तुलन मिलाउनुपर्ने चुनौती छ । महाधिवेशनपछि मन्त्रीमण्डल पुनर्गठन भएको पनि छैन । कार्यसम्पादन समितिमा सभापतिजीले ज्येष्ठताका आधारमा सबैलाई प्राथमिकता दिनुभएको छ । हाम्रो पार्टीका १३ भातृ संगठनसहित १९ वटा संस्था छन् । जम्मा चारवटा गठन भएको छ । अहिले नै एकलौटी गर्नुभयो भन्नु हतार हुन्छ ।”



प्रतिक्रिया दिनुहोस्